प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा भर्ना, गृहमन्त्री लामिछानेको कुरा सुन्न कांग्रेस तयार[भिडियोसहित]

प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा भर्ना, गृहमन्त्री लामिछानेको कुरा सुन्न कांग्रेस तयार[भिडियोसहित]

केन्द्रबिन्दु
154
Shares

सहकारी प्रकरणमा लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ। पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा वैशाख २८ गतेबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा रास्वपा सभापति समेत रहेका लामिछानेलाई आफ्नो कुरा राख्न दिने पक्षमा कांग्रेस पुगेको हो। तर, गृहमन्त्री लामिछानेले बोले पनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसले तयारी गरेको छ। यसअघि गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने माग राख्दै सभामुखलाई पत्र नै लेखेका थिए।

पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन्। एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले माधव नेपाललाई लक्षित गर्दै हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ भनी टिप्पणी गरेका हुन्। ‘अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ। गुटबन्दी मुर्दावाद भनौँ’ उनले भने।

प्रधानमन्त्री प्रचण्डको दात दुख्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन्। बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो वीर अस्पताल पुगेर उपचार गराएका हुन्। डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको उपचार गरेको थियो। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बनेको सुरूङ ‘ब्रेक–थ्रु’ गर्न उनी आज सिन्धुली पनि पुगेका थिए। त्यसपछि उपचार गराएका हुन्।

पार्टी फुट अवैधानिक भन्दै कानुनी उपचार खोज्ने अध्यक्ष यादवको भनाइ
उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको र त्यसका लागि कानुनी उपचार खोज्ने बताएका छन्। आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको र इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै निर्वाचन आयोगको विरुद्धमा अदालतमा जाने बताएका हुन्।

कोशी: संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने प्रदेश प्रमुख खापुङको भनाइ
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन्। बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन्। उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिखेका हुन्। यता मुख्यमन्त्री कार्की आफू नेतृत्वको सरकार संविधानमा रहेको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्प प्रयोग गरेर गठन भएको भन्दै राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडानमा छन्।

सुहाङले इलामका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि उनले दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने बताएका हुन्। समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत उनले दिलाए।

काठमाडौं महानगर: सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्ने
काठमाडौं महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ। सोही क्रममा नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ। कामपाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरु, सहकारी संस्थाहरु र स्वास्थ्य सेवा प्रदायकहरु छन्। कामपाले, २०८० सालमा कामपाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भल पस्दा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ। विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थलले जानाएको छ।

काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थाल्यो
सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ। ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ। सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न
तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। एकाध सेन्टिमिटर मात्रै सुरुङ खन्न बाँकी रहँदा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेर सुरुङ छिचोलिएको हो। विसं २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरू गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण भएको छ। करिब दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि १९ महिनामा नै सुरुङ छिचोलिएको हो।

नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढ्यो
शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ। आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ। सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ। आज तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ।

कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु
खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ। आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ। खोप वितरण शुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो।

आईसीसी वरियतामा कप्तान पौडेलको एक स्थान सुधार
आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ। आईसीसीको नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन्। वरियतामा आसिफ शेख ८६औं र दीपेन्द्र सिंह ऐरी ५०औं स्थानमा छन्। भारतका सूर्यकुमार यादव वरियताको पहिलो स्थानमा छन्। इङ्ल्याण्डका फिल साल्ट दोस्रो, पाकिस्तानका मोहम्मद रिजवान दोस्रो र बाबर आजम तेस्रो स्थानमा छन्।

Skip This
Logo