रविमाथि छानबिन हुनै नदिने पक्षमा एमाले, आफ्नै फुटले ढल्दैछ मधेश सरकार[भिडियोसहित]

रविमाथि छानबिन हुनै नदिने पक्षमा एमाले, आफ्नै फुटले ढल्दैछ मधेश सरकार[भिडियोसहित]

केन्द्रबिन्दु
18
Shares

सहकारी प्रकरणमा: एमालेको आक्रोश
संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस टसमस नभएपछि नेकपा एमालेले आक्रोश जनाएको छ। सहकारी ठगी प्रकरणमा कांग्रेसले राखेको संसदीय समिति गठनको मागमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असम्भव भएको बताएका छन्। कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने उनले दाबी गरे। बैठकमा सहभागी कानुनमन्त्री पदम गिरीले पनि ठगीको विषयमा प्रश्न उठाउने कुरा स्वाभाविक भए पनि छानबिन समिति गठन उपयुक्त नभएको टिप्पणी गरे।

प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आयो: राप्रपा प्रमुख सचेतक शाही
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै अव प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन्। सिंहदरबारको बैठकपछि उनले भने ‘हामीले गृहमन्त्रीको कुरा विश्वास गर्नैपर्छ। यदि उहाँको कुरा साँचो हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ।’ शनिबार चितवनमा पुगेर लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेकाा थिए। यस प्रकरणमा लामिछाने स्वयं नैतिक संकटमा परेका छन्।

एमाले र माओवादी केन्द्र मधेस सरकारबाट बाहिरियो
एमाले र माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् भने माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामाबुझाउँँदै समर्थन पनि फिर्ता लिएको छ। योसँगै जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार ढल्ने भएको छ। यही वैशाखको पहिलो साता नयाँ समीकरण अनुसार लिइएको विश्वासको मतमा मुख्यमन्त्री यादवलाई ६१ जना प्रदेश सांसदले समर्थन जनाएका थिए । तर, अब माओवादीका ९ र एमालेका २४ सांसदको समर्थन फिर्ता भएको छ।

राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालले दिए राजीनामा
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्। सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका हुन्। साथै,नेपालले दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

अख्तियारद्धारा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक पौडेललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार ४० करोड बढी बिगो माग गर्दै पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल, म्याक्स इन्टरनेशनलका सञ्चालक अकबर हुसेनसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आइतबार मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।

घट्दै काठमाडौंको वायु प्रदूषण
काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५०औं स्थानमा सूचीकृत भएको छ। यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएको काठमाडौं उपत्यका वर्षाले वायु प्रदूषण न्यूनीकरण गरे संघै आज भने ५०औं नम्बरमा पुगेको हो।‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायुगुणस्तर सूचकाङ्क एक्यूआई ५६ रहेको छ। गत वैशाख २० गते भने काठमाडौंको एक्यूआई एक सय ६२ पुगेको थियो।

बोडिङ स्कुलको बसमा पेट्रोल बम प्रहार
आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको छ। कसले र किन प्रहार गर्यो भन्ने थप अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।

एक जनाको हत्या पक्राउ परे चार नाबालक
काठमाण्डौको बत्तीसपुतली कुमारी टोलमा गए राति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ। गए राति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको थियो। घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ। राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा शुरु भएको प्रहरीले जनाएको छ।

सगरमाथाको पछिल्लो तीन दिनमा ७० जनाभन्दा बढीले गरे आरोहण
पछिल्लो तीन दिनमा ७० जनाभन्दा बढी आरोही तथा गाइडले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आइतबार अपराह्न साढे १ बजेसम्म ७० जनाभन्दा बढी आरोही तथा गाइडले सगरमाथको सफल आरोहण गरेका हुन्। यसैबिच,सगरमाथा आरोहण गर्ने क्रममा कामीरिता शेर्पाले आफ्नो रेकर्ड आइतबार आफैँले ‘ब्रेक’ गरेका छन्। उनी २९औँपटक सगरमाथाको शिखरमा पुगेका हुन्। सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गर्ने रेकर्ड यसअघि पनि उनकै नाममा थियो।

साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो। गएको वर्षको १० महिनामा रेमिट्यान्सको वृद्धि भने २४ दशमलव २ प्रतिशत रहेको थियो। रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको छ। १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच लाख ४२ हजार एक सय ४९ जना रहेको छ। ९ महिनाको अवधिमा आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ पनि विदेशियो
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ पनि विदेशिएको छ। उक्त अवधिमा नेपालीहरु पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको हो। चालु आर्थिक वर्षको पहिलो नौ महिना अर्थात २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

आइतबार नेप्से ८.२६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पु्ग्यो
शेयर बजार परिसूचक नेप्से आज ८.२६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ। आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

उत्तरी गोलार्धको आकाश रङ्गिन देखियो
पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ। आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ। हिजो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गरेको थियो। वेलायतमा धेरैले सामाजिक सञ्जालमा रङ्गिन आकाशको फोटो सार्वजनिक गरेका छन्।

पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल सोमबारबाट
फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख ३१ गते सोमबार(भोलिदेखि) देखि हुने भएको छ। लैनचौरस्थित टेबलटेनिस हलमा हुने छनोट प्रतियोगितामा पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालका खेलाडी, पुरुष र महिला दुवै विधामा कुल १९ खेलाडी सहभागी हुनेछन्। भारत यसअघि नै ओलम्पिक छनोट हुँदा भुटान भने सहभागी हुने छैन। छनोटका प्रतियोगिताका लागि एटीटीयूले दुई हजार पाँचख सय अमेरिकी डलर उपलब्ध गराएको छ।

Skip This
Skip This
Logo