सन्दीपको मुद्धामा पर्यो चर्काचर्की, बालेन र रविको पक्षमा सरकारको नीति तथा कार्यक्रम[भिडियोसहित]

सन्दीपको मुद्धामा पर्यो चर्काचर्की, बालेन र रविको पक्षमा सरकारको नीति तथा कार्यक्रम[भिडियोसहित]

केन्द्रबिन्दु
168
Shares

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको हो । जसमा सहकारी संस्थाहरूमा देखिएको समस्या समाधानदेखि ५ लाख भूमिहीनलाई जग्गा दिने, रुग्ण तथा बन्द अवस्थामा रहेको उद्योग कलकारखाना सञ्चालनमा ल्याउने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिने, १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ, जसमा आगामी वर्षका लागि सरकारका प्राथमिकताका विषय समेटिने गर्छ ।

कांग्रेस: नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि संसद चल्न नदिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको आग्रहमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि संसदीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने बताएको छ। सरकारको नीति तथा कार्यक्रमपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै पनि सरकारी कार्यसूचीमा प्रवेश गर्न नदिने स्पष्ट पारेका हुन् । सहकारीको अर्बौं रकम अपचलन गरिए पनि सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने विषयमा केही नबोलेको उनको भनाई छ । ‘आम मानिसको अर्बौ रकम अपचलन भएको छ। उनीहरूको मार्कालाई सम्बोधन गर्नुको साटो उल्टै ठग्नेलाई संरक्षण गरिएको छ। सरकार सहकारी पीडितप्रति गैरजिम्मेवार देखियो’ उनले भने ।

बञ्चरेडाँडो समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न संयन्त्र बनाउने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टाउको दुखाई बनेको काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने साइट बञ्चरेडाँडो समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ । उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ । स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन । संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बञ्चरे डाँडाको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउने बताएका हुन् ।

गिरीबन्धु टिस्टेटको हदबन्दीभन्दा बढी जग्गा कानुन नै संशोधन गरेर सट्टापट्टा गर्नेमाथि थप अनुसन्धान गर्न माग
कांग्रेस महामन्त्री गगन थापाले गिरीबन्धु टिस्टेटको हदबन्दीभन्दा बढी जग्गा कानुन नै संशोधन गरेर सट्टापट्टा गर्नेमाथि थप अनुसन्धान गर्न माग गरेका छन् । संवैधानिक इजलासले गत माघ २४ गते गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णयलाई बदर गर्दै निर्णय बद्नियताका साथ भएको टिप्पणी गरेको छ ।उक्त आदेशलाई स्वागत गर्दै महामन्त्री थापाले निर्णय गर्नेमाथि थप अनुसन्धान गर्न सर्वोच्चको आदेशले ढोका खोलेको उल्लेख गरेका हुन् । समाजिक सञ्जालमा फैसलाप्रति सम्मान जनाउँदै उनले घुमाउरो रुपमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि छानबिन गर्नुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष उपेन्द्रले सरकारबाट राजीनामा दिएको नभए गलहत्याएर निकालिने दाबी
मंगलबार ललितपुरमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएको नभए गलहत्याएर निकालिने दाबी गरेका छन् । उनले भनका छन्, ‘संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको। जनता समाजवादी पार्टी विभाजित भयो। विभाजित गरियो। सरकारबाट निकालियो। मुन्ट्याउने काम मात्रै भएन। उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।’यस्तै, उनले राजनीतिक घटनाक्रम, सत्तामीकरण र गठबन्धन दिनदिनै परिवर्तन भइरहने बताए ।

जिबी राईको राहदानी रद्द गर्न अस्वीकार
कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ । आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग गरेको थियो। राहदानी रद्द गर्नका लागि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् अदालतमा अनुमति माग गरेको थियो । तर न्यायाधीश कोइरालाको इजलासले माग बमोजिम आदेश नहुने निर्णय गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने
पूर्वराजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउन लागेको उनको सचिवालयले जानकारी दिएको हो ।

मंगोलियाका दुई आरोही बेपत्ता
सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् । उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको र उनीहरूको खोजी कार्य भइरहेको पनि जनाइएको छ । अहिले सगरमाथा सहित हिमालमा आरोहण चलिरहेको छ । यो क्रम आगामी १५ दिनसम्म जारी रहने छ ।

इतिहासकार ज्ञानमणि नेपालको निधन
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । उनको आज उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका ‘नेपालको महाभारत’, ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल–भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ लगायतका पुस्तक प्रकाशित छन् । उहाँको निधनले नेपाली इतिहासको खोज र अनुसन्धानमा ठूलो क्षति पुगेको इतिहासकारहरूले बताएका छन् ।

ब्रोकर कमिसन घट्यो
नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले कमिसन घटाउन सहमति दिएसँगै आजदेखि ब्रोकर कमिसन घटेको छ । नयाँ व्यवस्थाअनुसार ब्रोकरले शेयर कारोबारीसँग लिने शुल्क १० प्रतिशत कम भएको छ । आजदेखि अधिकतम ब्रोकर कमिसन कारोबार रकमको शून्य दशमलव ३६ प्रतिशत कायम भएको छ । यस्तै ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३१ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र एक करोड रुपैयाँमाथि जतिसुकैको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कायम भएको बोर्डले जनाएका छ ।

नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको बढोत्तरी
शेयर बजार परिसूचक नेप्से आज २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । आज ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।

मुम्बईमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना
भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ ।

२८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा
विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा किरण चेम्जोङको कप्तानीमा २८ सदस्यीय खेलाडीको टोली घोषणा गरेका हुन्। नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो । तर दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासङ्घ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।

Logo