सन्दीपले पाए सफाई, कांग्रेसलाई अब दादागिरी देखाउन नदिने ओलीको चेतावनी[भिडियोसहित]

सन्दीपले पाए सफाई, कांग्रेसलाई अब दादागिरी देखाउन नदिने ओलीको चेतावनी[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

सन्दिपलाई बलात्कार मुद्दामा सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई निर्दोष ठहरे गरेको हो। परिवर्तित नाम गौशाला २६ ले हालेको मुद्दामा यसअघि जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो। साथै ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको हो। अब उनी टी२० विश्वकप क्रिकेट खेल्न योग्य भएका छन्।

कांग्रेसले संसद अवरोध गरे प्रतिरोध गर्ने एमालेको चेतावनी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने चेतावनी दिएका छन्। बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताएका हुन्। कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ।’ ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने बताए। उनले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे।

नीति तथा कार्यक्रमलाइ जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची
प्रतिनिधि सभाले सरकारले हिजो ल्याएको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमलाइ जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ। प्रतिनिधि सभाले तय गरेको सम्भावित कार्यसूचीअनुसार भोलिदेखी सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने छ। त्यसैगरी, जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्री लामिछानेको आफूमाथि प्रश्न उठेपछि संसदमा त्यसको जवाफ दिन पाउनुपर्ने माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसदमा त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन्। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। आफूले दिएको जवाफ चित्त नबुझे मात्रै कांग्रेसले विरोध गर्न पाउने उनको भनाई छ। सहकारी प्रकरणमा लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठन नगर्दासम्म प्रतिपक्षी कांग्रेसले संसद् अवरोध जारी राख्ने चेतावनी दिँदै आएको छ।

सरकारले ‘स्वचालित रुट’ प्रणाली शुरु गरे
सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ’स्वचालित रुट’ प्रणाली शुरु गरेको छ। नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाण्डौमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’स्वचालित रुट’ प्रणाली शुरु गरेको जानकारी गराएका हुन्।प्रधानमन्त्री प्रचण्डले स्वचालित रुट प्रणालीको शुरुवातसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गरेका छन्।

१६औं आवधिक योजना सार्वजनिक
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी १६औं आवधिक योजना सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना बुधबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरी प्रतिव्यक्ति आय बढ्ने जनाएको हो। हाल प्रतिव्यक्ति आम्दानी एक हजार चार सय ५६ डलर छ। यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०८५÷८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ।

निःशुल्क सीप तालिम लिन ६८ हजार आठ सय ६६ जनाले आवेदन दिए
काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको निःशुल्क सीप तालिम लिन ६८ हजार आठ सय ६६ जनाले आवेदन दिएका छन्। त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएका महानगरले जनाएको छ। दुई हजार ८१ जनालाई तालिमसँगै रोजगारी दिने लक्ष्यसहित गएको वैशाख १९ गतेदेखि शुरु भएको मेलामा निःशुल्क तालिम लिन इच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो। टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम भइरहेको छ।

अस्ट्रेलिया सरकारले गर्यो आप्रवासनबारे केही परिवर्तन
अस्ट्रेलिया सरकारले गत मंगलबार ल्याएको आर्थिक वर्ष २०२४/२५ को बजेटमा आप्रवासनबारे केही परिवर्तन गरिएका छन्। अधिकांश परिवर्तनले नेपाली भिसा आकांक्षीहरूलाई असर नगर्ने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ताले जानकारी दिएका छन्। गुप्ताका अनुसार स्थायी रूपमा बसोबास गर्ने गरी अस्ट्रेलियाको अध्ययन भिसा आकांक्षी विद्यार्थीहरूलाई भने केही प्रभाव पार्नेछ। आप्रवासन योजना स्तरहरूमा कमी, ४८२ भिसाका लागि एक वर्षे अनुभव र नेशनल इन्नोभेसन भिसाजस्ता विषयमा बजेटमा गरिएको केही संशोधनबाट उनीहरू प्रभावित हुन सक्छन्।

सेयर बजारमा बुधबार गिरावट
यस साता आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से आज ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ। आज ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको छ।

सिङ्गापुरका प्रधानमन्त्रीले पदबाट बिदा लिए
सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिएका छन्। सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्न लागेको बीबीसीले जनाएको छ। लीको बिदाइलाई सिङ्गापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ।

ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा आइपुगेका हुन्। उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन्। दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए। यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन्।

Logo