बालेनविरूद्ध कुटपिट र लुटपाटको मुद्दा, गृहमन्त्री लामिछानेको विरोध गर्दा ११ जना प्रहरी नियन्त्रणमा[भिडियोसहित]

बालेनविरूद्ध कुटपिट र लुटपाटको मुद्दा, गृहमन्त्री लामिछानेको विरोध गर्दा ११ जना प्रहरी नियन्त्रणमा[भिडियोसहित]

केन्द्रबिन्दु
84
Shares

प्रधानमन्त्री प्रचण्डले जेष्ठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेष्ठ ७ गते विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले सोमबार नै विश्वासको मत लिने तयारी गरी सोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका हुन्।

राष्ट्रिय सभाको बैठक अवरूद्ध

नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाको बैठक आज पनि केहीबेर बसेर अवरुद्ध भएको छ। पछिल्ला केही दिन देखि नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आईरहेको छ। कांग्रेसको निरन्तर अवरोधपछि आज विहान ११ र दिउसो  १ः१५ बजे हुने भनिएको बैठक नै नबसी जेठ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।

कोशीमा ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन्। कार्कीले शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त गरेका हुन्। यस्तै माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन्। भने एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन्। यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन्। सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त भएका छन्।

त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन्। बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईले मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

नेविसंघका ११ जना नेताहरू प्रहरी नियन्त्रणमा

कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ। उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ ’लेखिएका प्लेकार्ट बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा छ। यता, गृहमन्त्री रवि लामिछानेले भने आफूलाई संसद्मा बोल्न दिनुपर्ने माग गर्दै आएका छन्।

सहकारी प्रकरण: छानबिन समितिमा प्रतिपक्षी पाँच दल एकमत

सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत भएका छन्। शुक्रबार नयाँ बानेश्वरमा नेपाली कांग्रेसको  आह्वानमा भएको पाँच दलीय संयुक्त बैठकले संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको हो। बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको थियो।

मेयर बालेन र नगर प्रहरीविरूद्ध मुद्दा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको छ। प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। पोखरेलले उनीहरुलाई कुटपिटबापत मुलुकीअपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवानामाग गरेका छन्। त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न माग गरेका छन्। शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त माग गर्का हुन्। त्यस्तै, सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई पनि उनले सुझाएका छन्।

मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंकलाइनमा पूर्वन्यायाधीश लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंकलाइनका विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको र त्यससम्बन्धी पत्र मन्त्रिपरिषद् बैठकबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइसकेको मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले जनाएका छन्।

राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिनका लागि संसद् सचिवालयलाई पत्र

सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिनका लागि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सरकारले यसअघि दर्ता भएर विचाराधीन रहेको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने भनी पत्र पठाएको जानकारी दिएका हुन्। सरकारले चाहेमा जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्थाअन्तर्गत यो विधेयक फिर्ता लिन लागिएको हो।

सुदूरपश्चिममा शाही मुख्य न्यायाधिवक्तामा सिफारिस

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा चन्द्रबहादुर शाही मुख्य न्यायाधिवक्तामा सिफारिस भएका छन्। अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन्।

नेपालमा चिनियाँ गाडीको सङ्ख्या बढ्न थाल्यो

नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन्। तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ। गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो।

गाजामा युद्धविरामको आदेश दिन

दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ। दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको समाचार संस्था अलजजिराले जनाएको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिताको उद्घाटन

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले दक्षिण एसियाली कराँतेमा सफलता प्राप्त गरी आएपछि आफ्नो भत्ताबाट आउने १ लाख रुपिया खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन्। आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका लागि कराँते महासंघले आज र भोलि धनगढीमा संचालन गरेको प्रदेश स्तरीय छनोट प्रतियोगिता उद्घाटनमा निवर्तमान मुख्यमन्त्री शाहले आफू मुख्यमन्त्री हुँदा खेलकुद क्षेत्रमा ठूलो बजेट छुट्याएको जानकारी दिएका छन्।

Logo