आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने देखिन्छ ।

तीन दिनयताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको हो ।

तर आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनुका साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo