काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ ।
अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधरणतया बदली रहने छ । देशैभर चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
देशभर भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
मौसम तथा विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार आज काठमाडौँको कपन क्षेत्र, सुन्दरी जल आसपास र ललितपुरमा पछिल्लो ६ घण्टामा ४६ देखि ६७ मिमि वर्षा भएको छ । यो वर्षा अझै केही घण्टा निरन्तर हुने सम्भावना भएको छ । चितवनको शक्तिखोर वरिपरि पनि भारी वर्षा हुँदै छ । सिन्धुपाल्चोकको मेलम्ची जलाधारमा पनि मध्यमदेखि भारी वर्षा हुँदै छ । त्यस्तै, सुदूरपश्चिममा अहिले सुरुवाती अवस्थाको वर्षा र राति भारी वर्षाको सम्भावना छ । डा.उप्रेतीका अनुसार देशका दुई तिहाइ क्षेत्रमा मनसुनी वायुको प्रभाव आगामी दुई-तीन दिन बढी हुने देखिएको छ ।
प्रतिक्रिया