अविरल वर्षाका कारण अरनिको र बेनी–जोमसोमसहित देशका प्रमुख राजमार्गहरू पहिरो र बाढीले अवरुद्ध

अविरल वर्षाका कारण अरनिको र बेनी–जोमसोमसहित देशका प्रमुख राजमार्गहरू पहिरो र बाढीले अवरुद्ध

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पछिल्लो केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग र लमजुङको मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बेनी–जोमसोम र भोजपुर खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकुमा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ । त्यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण अवरुद्ध छ ।

बिपी राजमार्ग पनि दोस्रो पटक अवरुद्ध भएको छ । मंगलबार बेलुकी रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे घुमाउने, चारसयबेँसी र गिम्दीबेँसीका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले हेभी इक्विपमेन्ट प्रयोग गरी डाइभर्सन पुनर्निर्माण गर्ने प्रयास जारी राखेको छ । आज दिउँसोसम्म सडक सुचारु हुने अनुमान गरिएको छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्ग भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित सडक अहिले एकतर्फी सुचारु छ भने बेनी–जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । सडक विभाग र स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने प्रयास तीव्र बनाए पनि निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले पूर्ण रूपमा सडक सुचारु भने अझैँ केही समय लाग्न सक्ने देखिएको छ ।

नेपाल प्रहरीले यात्रु तथा चालकहरूलाई सडकको वास्तविक अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी पहिरोको जोखिम उच्च रहेका अरनिको, मध्यपहाडी र बेनी–जोमसोम खण्डमा यात्रा गर्दा अत्यन्त सतर्कता अपनाउनु पर्ने प्रहरीको भनाइ छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बिपी राजमार्ग बारम्बार अवरुद्ध हुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नुपरेको बताउँदै, अस्थायी डाइभर्सनको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पक्की सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।

Logo