काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा दायर मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छासँग दुवै कसुरमा धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले बीमासम्बन्धी कसुरतर्फ ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरतर्फ २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी निर्धारण गरेको छ।
अदालतको आदेशपछि गोल्छाले बैंक ग्यारेन्टी पेश गरी रिहा भएका छन्।
यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।




















