विश्वभर कोभिड १९ को महामारी फैलिएसँगै यसको नियन्त्रणको लागी र यसबाट पिडित विपन्न समुदायहरुको लागी चलचित्र क्षेत्रबाट पनि सहयोग रकम जुट्न थालेको छ । पछिल्लो समय धेरैजसो नेपाली चलचित्रकर्मिहरुले आफ्नो तर्फबाट सक्ने रकम र राहत सहयोग गरिरहेका छन् । यस रिपोर्टमा तिनै सहयोगी चलचित्रकर्मीहरुको बारेमा उल्लेख गरिएको छ ।
१. पल शाह
कोरोना संक्रमणसँग लड्न सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने कलाकार हुन् पल शाह । उनले दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने चलचित्र प्राविधिकहरुको राहतका लागि रु. ५ लाख १ हजार सहयोग गरेका थिए । आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै उनले आफुले गरेको सहयोग बारे जानकारी गराएका थिए । पलले उक्त सहयोग रकम बराबरको खाद्यान्न सामग्री चलचित्र प्राविधिक संघ नेपाल (नेफ्टा)लाई हस्तान्तरण गरेका थिए ।
२. गौतम धिमाल
चलचित्र निर्माता तथा छायांकार गौतम धिमालले पनि चलचित्र प्राविधिकहरुको लागी रु. २ लाख २५ हजार बराबरको राहतको जिम्मा लिएका छन् । उनको सहयोगबारे चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक पेजमार्फत खुलाएका छन् ।
३. श्री कृष्ण चापागाईं
निर्माता तथा निर्देशक श्री कृष्ण चापागाईंले चलचित्र प्राविधिकहरुको राहतका लागी १ हजार डलर (१ लाख २१ हजार २ सय ७२ रुपैँया) सहयोग गरेका छन् । उनले उक्त रकम बराबरको राहत प्राविधिकहरु समक्ष पुर्याउन प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग सहकार्य गरेका छन् ।
४. दीपकराज गिरी सहित छक्का पन्जा टिम
हाँस्यकलाकार तथा निर्माता दीपकराज गिरीले पनि आफ्नो चलचित्र छक्का पन्जाको टिमसँग मिलेर रकम सहयोग गरेका छन् । उनले चलचित्र प्राविधिकहरुका लागि १ लाख २० हजार बराबरको खाद्य सामाग्री चलचित्र प्राविधिक संघलाई बुझाएका हुन् । यससँगै हाल उनि अन्य फिल्मकर्मीहरुको सहयोग रकम संकलन गर्ने कार्यमा पनि सक्रिय रुपमा लागेका छन् ।
५. वर्षा सिवाकोटी
कलाकारहरुमा सबैभन्दा पहिले सहयोग रकम घोषणा गर्ने अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले कोरोना संक्रमणसँग बच्न र यसको रोकथाम गर्न नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैँया सहयोग गरेकी थिईन् । यससँगै उनी लकडाउनमा घरबाहिर भोकै परेका जनावरहरुलाई खाना खुवाउने अभियानमा पनि सक्रिय रुपमा लागिरहेकी छिन् ।
६. प्रियंका र आयुष्मान
अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान अभिनेता आयुष्मान देशराज जोशीले पनि रकम सहयोग गरेका छन् । लकडाउनको समयमा सबैले मानव समस्या समाधान गर्न सहयोग गरिरहँदा प्रियंका र आयुष्मानले भने घरबाहिर भोकै रहेका जनावरहरुको खानाको लागि रकम सहयोग गरेका हुन् । उनीहरुले आफ्नो स्वामित्वमा रहेको एनजीओ ‘आयांका फाउन्डेशन’ मार्फत ‘एनिमल नेपाल’ नामक संस्थालाई १ लाख हस्तान्तरण गरेका थिए । यससँगै एनिमल नेपालको ‘एक कचौरा पानी र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडी सक्रिय रुपमा लागिरहेका छन् ।
७. वर्षा राउत
पछिल्लो पटक सहयोग गर्ने कलाकारमा अभिनेत्री वर्षा राउत पनि परेकी छिन् । उनले पनि दैनिक ज्यालामा गुजारा चलाउने र न्यून आयस्तर भएका चलचित्र प्राविधिकहरुका लागि ५१ हजार बराबरको खाद्य सामाग्री वितरण गरेकी छिन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले उनको यस सहयोग रकम बारे खुलाएका छन् ।
८. अर्जुन कुमार
निर्माता अर्जुन कुमारले पनि कोरोनासँग लड्न प्रधानमन्त्री राहत कोषमा ५० हजार रकम सहयोग गरेका छन् । उनले आफुले गरेको सहयोग रकमबारे आफ्नो फेसबुक अकाउन्ट मार्फत सार्वजनिक गरेका थिए ।
९. कृष्ण मल्ल
पुराना कलाकार कृष्ण मल्लले पनि प्राविधिकहरु लाई सहयोग गर्न हात बढाएका छन् । उनले सामाजिक संजालमार्फत विपन्न प्राविधिकहरुका लागी ३० हजार रकम सहयोग गरेको जानकारी गराएका थिए ।
१०. पुष्कर राउत
कलाकार पुष्कर राउतले पनि प्राविधिकहरुको सहयोगका लागि १५ हजार रुपैँया बराबरको राहत सहयोग गरेका छन । उनले उक्त राहत चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई हस्तान्तरण गरेका छन् ।
यसैगरी फिल्मकर्मीहरु केकि अधिकारी , ऋचा शर्मा , नीता ढुंगाना, साकार पन्त, स्वस्तिमा खड्का, रमेश उप्रेती, अनुराग मान सिँह कुवंर , गौरव पहारी, अनुप भट्टराइ, लक्ष्मण सुबेदी लगायत पनि प्राविधिकका लागी सहयोग गर्न सम्पर्कमा आएको बुझिएको छ ।





























प्रतिक्रिया