आफूलाई लागेको ठगी आरोपको नायक अनमोलद्वारा खण्डन

आफूलाई लागेको ठगी आरोपको नायक अनमोलद्वारा खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नायक अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपको खण्डन गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेपछि उनले यसको खण्डन गरेका हुन् । ‘धुपौरे’ फिल्मका निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध ठगी गरेको उजुरी दिएका थिए । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनमोलले सो आरोपको खण्डन गरेका हुन् । उनले यस्तो लेखेका छन् :

“म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाडौं बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाडौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें ।

स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहँदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुःखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।”

Logo