काठमाडौँ ।
फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु -२’ को प्रदर्शन स्थगित गरिएको छ । चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनद्वारा एक विज्ञप्ती जारी गर्दै फागुन ३० गतेबाट चलचित्र प्रदर्शनमा नआउने जानकारी गराईएको हो ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि चलचित्र प्रदर्शन रोकिएको र राज्यबाट अर्को सूचना जारी नभएसम्म प्रर्दशन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको छ । साथै विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल चलचित्र निर्माता संघले भरसक सबै चलचित्र छायांकन रोक्न सूचना जारी गरेको छ ।

सुदर्शन थापा निर्देशित यो चलचित्र गत शुक्रबारबाटै प्रदर्शनमा आउने तयारीमा थियो । तर बलिउड चलचित्र ‘बागी -३’ प्रदर्शनमा आएका कारण यो चलचित्र एक हप्ता पछाडि सरेर फागुन ३० का लागि मिति तोकिएको थियो । यसरी बिभिन्न कारणले चलचित्र पछि सरेकाले ‘म यस्तो गीत गाउँछु -२’ परिवारले विज्ञप्तीमार्फत् क्षमाप्रार्थी रहेको बताएका छन् ।
शिवम अधिकारी र दिनेश न्यौपानेको कथा लेखन रहेको ‘म यस्तो गीत गाउँछु -२’ मा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । पूजा शर्मा र सुदर्शन थापा निर्माताको रुपमा रहेको यस चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, सोनिका रोकाय, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।































प्रतिक्रिया