- सिम्रन स्याङ्बो तामाङ्ग
काठमाडौं ।
नेपाली मनोरञ्जन क्षेत्र केही दिनदेखि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको उत्सवले गर्माएको छ । उनीहरू आजबाट औपचारिक रूपमै श्रीमान् श्रीमती बनेका छन् ।
उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर एक अर्काेलाई माला लगाउँदै कानूनी बिवाह गरेका हुन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र अभिनेता जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुन अनुसार आफूहरु श्रीमान् श्रीमती भएको जनाएका छन् । कानुनी रुपमा आज विवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार मात्र बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।
उनीहरुको विवाहका लागि काठमाडौंको पार्क भिलेज रिसोर्ट बुकिङ गरिएको थियो । ३ दिनका लागि बुकिङ्ग गरिएको उक्त रिसोर्टमा उनीहरुले मेहेन्दी, सुपारी र संगीतको कार्यक्रम आयोजना गरेका थिए । मेहेन्दी कार्यक्रममा हरियो रंगको पहिरनमा सजिएकी प्रियंकाले आयुष्मानको नाम आफ्नो हातमा लेखाएकी थिईन् भने आयुष्मानले पनि प्रियंकाको नक्कल गर्दै आफ्नो हातमा प्रियंकाको नाम लेखाएका थिए । सुपारी कार्यक्रममा भने प्रियंका रातो साडीमा देखिएकी थिईन् । त्यसपछि मध्यरातसम्म चलेको संगीत कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायतका थुप्रै कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए ।
विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट भएको २ वर्षसम्म पनि विहे गरेका थिएनन् । जसकारण उनीहरुको बिहे नै नहुने हो कि भनेर धेरैले आँकलन समेत गरेका थिए । यसैबीच प्रियंकाको सरप्राईज ब्याचलर पार्टीले आफूहरुको विवाह निश्चित भएको जानकारी दिएको थियो । आफ्नो विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए । ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने प्रियंकाको पार्टी सकेको केहि दिनपछि आयुष्मान पनि आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए । जहाँबाट आयुष्मानले प्रियंकाको नक्कल गर्दै पोस्ट गरेका फोटोहरुले सामाजिक संजाल निकै तताएको थियो ।
विभिन्न बाधा अड्चन र ट्रोलको शिकार बनेपनि अन्ततः आजबाट उनीहरुले वैवाहिक जीवनको शुरुवात गरेका छन् । विवाहपश्चात परिवारबाट छुट्टै बस्न उनीहरुले ललितपुरको भैसेपाटीमा घर समेत किनिसकेका छन् । नव विवाहित जोडीलाई सफल दाम्पत्य जीवनको शुभकामना । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया