सत्तरी दिनमा सकियो प्रेमगीत ३ को शुटिङ्ग

सत्तरी दिनमा सकियो प्रेमगीत ३ को शुटिङ्ग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सम्पूर्ण छायांकन सकाएर चलचित्र ‘प्रेमगीत ३’ को टिम काठमाडौं आईपुगेको छ । टिमले छायांकन शुरु गरेको ७० दिनमा प्याकअप गरेको हो । चलचित्रको छायांकन सकेपनि प्रोमोसनल गीत खिच्न भने बाँकी रहेको बुझिएको छ । मनाङ र कीर्तिपुरमा तयार गरिएको भव्य सेटमा छायांकन गरिएको यस चलचित्र आगामी चैत २८ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।

चलचित्रमा अभिनेता प्रदिप खडका, नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । आशुषेन फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी सम्हालेका छन् ।

यो चलचित्र वर्ष २०२० को बहुप्रतिक्षित चलचित्रमध्येको एक हो । नायिकाका लागि खुलाईएको अडिसनदेखि नै यस चलचित्रले दर्शकहरुको ध्यानाकर्षण गरेको छ । त्यसपछी किर्तिपुरको भव्य सेट र मनाङबाट आएका कलाकारहरुका हिउँभित्रका तस्विरहरुको कारणले पनि दर्शकको मनमा चलचित्रले छुट्टै छाप छोडेको छ । भलै टिमले हालसम्म चलचित्रका केहि पोष्टरहरु मात्र सार्वजनिक गरेको छ ।

चलचित्रको प्राविधिक कामहरु सकिएपछि टिम प्रचारप्रसारमा लाग्ने चलचित्रका निर्माता सन्तोष सेन बताउँछन् । अब प्रदर्शन मितिमा घटबढ भएन भने चैत २८ मा ‘प्रेमगीत ३’को स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धा हुनेछ ।

Logo