चलचित्र ‘रातो टीका निधारमा’ को पत्रकार भेटघाट

चलचित्र ‘रातो टीका निधारमा’ को पत्रकार भेटघाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज अशोक शर्माद्वारा निर्मित चलचित्र ‘रातो टीका निधारमा’ को पत्रकार भेटघाट कार्यक्रम डीसीएन नेपाल, कमलपोखरी काठमाडौंमा भयो । कार्यक्रममा चलचित्रको नामका विषयमा उठेको जिज्ञासा शान्त पार्दै अशोक शर्माले भने– यो ‘अल्लारे’ चलचित्रको एउटा चर्चित गीत ‘रातो टीका निधारमा टलक्कै टल्कियो’ बाट जन्मिएको हो । गीतको बोलसँग चलचित्रको कथावस्तु मेल खाएको हुनाले यसैलाई शीर्षक राखिएको हो ।’

शर्माले भने– ‘२२ वर्षअघि गायक उमेश पाण्डेले गाएको रातो टीका निधारमा टलक्कै टल्कियो… गीतले निकै चर्चा चुमेको थियो । दरबारदेखि सडकसम्म नचाएर इतिहास रचिसकेको यो गीत फेरि पनि रिमेक गर्ने भएपछि पहिलेकै गायक उमेशलाई गाउन लगाइयो तर ३ पटकको प्रयासपछि पनि उहाँबाट भनेजस्तो नभएपछि पछि प्रमोद खरेललाई गाउन लगाइयो । प्रमोदले पनि यो गीत ३ चोटिमा पूर्ण गरे । यो गीत पूरै लोक भाकामै गर्ने भनेर चल्तीभन्दा फरक एवं नयाँ म्युजिक एरेन्जर खोज्ने क्रममा दीक्षित पौडेलसँग जोडिन पुगियो । र, आज यो गीत रिलिज भएको ४ दिनमै १८ लाखभन्दा बढी हेरिसकिएको छ ।’

‘रातो टीका निधारमा टलक्कै टल्कियो’ चलचित्रमा अशोक शर्माको छोरा अंकित शर्माले नायकको रूपमा डेब्यू गरेका छन् । अंकित भर्खरै मलेसियाबाट फिल्म पढेर फर्किएका हुन् । यसका साथै चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, शिवहरि पौडेल, रविन्द्र झा, नीता ढुङ्गाना, वसुन्धरा भुसाल, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, खुश्बु खड्का, अरुणा कार्की तथा कमला रेग्मीको अभिनय रहेको छ ।
अशोक शर्माका अनुसार चलचित्रमा मुख्य कलाकार मात्र बलियो भएर हुँदैन सहयोगी कलाकार पनि बलियो हुनुपर्छ । त्यसैले यस चलचित्रमा सबै कलाकारको भूमिका एकदमै बलियो छ ।

चलचित्रले एउटै मात्र विषय नभएर विभिन्न समासामयिक गहन विषय बोकेको शर्माको दाबी छ ।

नायक अंकित शर्माले पनि चलचित्रमा आफूले एकदमै मेहनत गरेको र यसबाट ठूलै अपेक्षा राखेको बताए । आफ्नै बुबाले बनाएको फिल्मबाट आफूले डेब्यू गर्न पाएकामा खुसीका साथै चुनौतीहरू पनि रहेको बताउँदै अंकितले भने– ‘टिमसँग काम गर्न एकदमै सहज भयो ।’ अंकितको कुरा सुनिरहेका अशोकले छोराबाट आफूले पनि प्राविधिक कुराहरू सिक्न पाएको बताए ।

नायिका साम्राज्ञीले पनि चलचित्र एकदमै राम्रो बनेको बताइन् । उनले ‘रातो टीका निधारमा’ टिमसँग काम गर्न एकदमै रमाइलो भएको बताइन् । साथै साम्राज्ञीले अनावश्यक समाचारहरू लेखेर दुःख दिने मिडियाहरूप्रति गुनासो पोखिन् ।

चलचित्र दशैंको टीकाकै दिन प्रदर्शनीमा किन ? भन्ने प्रश्नमा अशोकले भने–‘यो चलचित्रमा दशैंको माहोल समेटिएको छ । तसर्थ यसलाई दशैंअघि प्रदर्शन गर्दा मज्जा आउँदैन । ‘रातो टीका’ को कन्सेप्ट दशैंको टीकासँगै मेल खाने भएकाले यसलाई दशैंकाे अवसर पारेर प्रदर्शनीमा ल्याउन लागिएको हो ।’ शर्माले यो चलचित्रमा दुर्गा माताको पूजा गर्न राम्रो मूर्ति चाहिएको कारण सिलिगुडीसम्म पुग्नुपरेको अनुभव सुनाए ।

Skip This
Skip This
Logo