काठमाडौं । यहि जेठ २५ गते नेपाल चलचित्र कलाकार संघको निर्वाचन तथा साधारणसभा हुँदैछ । जसमा दुई जना कलाकार अध्यक्षको चुनावी मैदानमा होमिएका छन् । कलाकार सरिता लामिछाने र अभिनेता रवीन्द्र खड्दाबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षकी उम्मेदवार सरिता चुनावी दौरानमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्दैै आएकी छन् । उनले चुनावी प्रतिस्पर्धाको तीन दिन अघि मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल बनाउन सक्रिय हुनुपर्ने बेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको बताएकी छन् ।
आफुमाथि ‘ह्यार्यासमेन्ट’ भईरहेको भन्दै चुनावी प्रचार गर्नुपर्ने बेला त्यस्ता समस्याको सामना गर्नुपरिरहेको बताएकी छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरिताले भनिन्, ‘एउटा उम्मेदवारकालागी यो निश्चय नै दुःखद पक्ष हो । तर, म माथि भइरहेका ‘ह्यार्यासमेन्ट’ का प्रयासहरु झनै दुःखद छन् । मैले भनिरहनु पर्दैन की म दुई दशकदेखि चलचित्रकर्ममा सक्रिय छु । अर्को पेशा नगरी र नसोचिकनै मैले यसै क्षेत्रबाट प्राप्त आम्दानीले गुजारा चलाउँदै आएकी छु । यस क्षेत्रबाट मैले मनग्गे मान–सम्मान र आदर–सत्कार कमाएको महसुस समेत गरेकी छु ।’
अभिनय कलाका साथै नेपाल चलचित्र कलाकार संघको महासचिव भएर तीन बर्ष गुजारिसकेको भन्दै सार्वजनिक जीवनमा निर्वाह गरेको भूमिका यिनै दुईवटा रहेको बताएकी छन् ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछि धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको उनको भनाई छ । विभिन्न घटना क्रमले आफ्नै ज्याननै असुरक्षित भएको महसुस गरेको बताएकी छन् । उनले भनिन्, ‘अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्याननै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’
‘संघको अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछि सिडियो कार्यालयमा सरिता लामिछाने कलाकार नै होइन भनेर मुद्धा हालियो । तीन बर्ष महासचिव म के हैसियतले भए ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ म ती मुद्धावालाहरुलाई सोध्न चाहान्छु’ उनले भनिन् ।
एक पटक सम्पूर्ण प्रमाणहरु पेश गरिसकेपछि पनि पटक पटक उही शैलिका मुद्दाहरु परिरहेको भन्दै उनले भनिन्, ‘मैले घर–परिवार, काम सवै छोडेर त्यही अनावश्यक मुद्धाको सामना गरिरहनु पर्यो । बरिष्ठ चलचित्रकर्मीहरु सम्मिलित छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछि र सिडियो कार्यालयले मलाई ‘क्लिन चिट’ दिइसकेपछि पनि अनेकौं अर्नगल प्रचार र धाकधम्की दिन छोडिएन । ‘नोमिनेशन’ गर्ने दिनमा समेत संघको कार्यालयमा आएर हुलहुज्जत गरियो । निवर्तमान कार्यसमितिमा सदस्य रहेका र सचिवका उम्मेदवार समेत रहेका कलाकारमाथि कुटपिट गरियो । मलाई समेत मनपरी गाली गरियो । र, उल्टै पुलिस बोलाएर हामीमाथि लाल्छना लगाईयो । प्रहरीले हामीलाई थाना बोलायो, बयानकालागी । त्यो दिन पुलिसको पछि लाग्दा लाग्दै सकियो । त्यससँगै पटक पटक र विभिन्न निकायमा चुनाव रोक्नकोलागी र सरिता लामिछानेको उम्मेदवारी खारेज गर्न निवेदन र विभिन्न धम्कीहरु दिईरहियो ।’
अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै आफुमाथि निगरानी समेत बढाइएको उनको भनाई छ । ‘अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै म माथि निगरानी समेत बढाइएको छ । म हिडेपछि मोटरसाइकल मार्फत मुस्तन्डेहरुले पछ्याउन थालेका छन्, घर नै सम्म । अस्तीको दिन साँझ घरमा दुईजना आएका थिए । छोटकरीमा भन्दा मलाई प्रत्यक्ष पनि र अप्रत्यक्ष पनि तर्साउने प्रयास भइरहेको छ’ उनले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चुनावबाट आउने रिजल्ट आफुलाई स्वीकार्य भएको तर प्रतिस्पर्धा नै गर्न पाउने अधिकार खोसिन खोजिएको बताईन् । ‘चुनावमा प्रतिस्पर्धा हुन्छ र रिजल्ट हारजीतमा आउँछ । यो सामान्य प्रक्रिया हो । जो म हृदयदेखि नै स्वीकार्न तयार छु । मैले जित्नै पर्छ भन्ने छैन । तर प्रतिस्पर्धा गर्न पाउने मेरो अधिकार खोस्ने छुट कसैलाई छैन भन्ने मलाई लाग्छ । म राजनीतिलाई सम्मान गर्छु । तर, कलाकार–कलाकारलाई फुटाउने पार्टीगत राजनीति हावी भएको संघ पटक्कै सोच्न सकिदैन’ विज्ञप्तीमा भनिएको छ ।
केही दुसित मानसिकता भएकाहरु एउटी महिला नेतृत्वमा आएको हेर्न नचाहेको बताईन् । ‘आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन् भन्ने मलाई लाग्छ । मलाई घर वाहिर र भित्र पनि अपराधी बनाउने कोशिस भइरहेको छ, पत्रकार साथीहरु । सिडियो कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् ‘आमा के अपराध गरेऊ’ ? पत्रकार मित्रहरु, भन्नुहोस् म छोरीलाई के जवाफ दिउँ ? घर नेपालगञ्जबाट ८६ बर्षका ससुराबाले यही प्रश्न गर्नुहुन्छ ? झापाबाट बुवा–आमाले यसै प्रकारका प्रश्न गर्नुहुन्छ । म क–कस्लाई के जवाफ दिऊँ, मलाई सुझाव चाहियो । के मैले कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिनु नै अपराध हो ?’ विज्ञप्तीमा भनिएको छ ।
प्रजातान्त्रिक प्रक्रिया, मानवअधिकार, महिलाअधिकार र समग्रमा नैसर्गिक अधिकारका सिद्धान्तभन्दा बाहिर गएर जुन चरित्र र संस्कार एउटा कोणबाट आफुमाथि प्रदर्शन गरिँदा कसरी सामना गर्ने भन्दै उनले सुभाव मागिन् ।





























प्रतिक्रिया