चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ। स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिए।

“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ। त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए। अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भने।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ। चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए। उनले भने, “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो। हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ। यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ।”

स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताए। उनले भने, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पथ्र्यो। त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो। हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो। त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ।”

निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ। गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो।

Logo