काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौँका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् ।
आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा दुई सय रुपैयाँ छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा दुई सय रुपैयाँ छुट, काठमाडौँको बत्तीसपुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ ।
त्यसैगरी, काठमाडौँ बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एण्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगञ्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ ।
यो अफरका लागि ‘मोदीबेनी’ चलचित्र हेर्नुपर्नेछ र अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिनेछ । अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ । एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ । चलचित्र श्रावण १८ गते रिलिज हुँदै छ ।
यो अफर चलचित्र हेरेको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ । नेपालभर जुनसुकै हलको लागि काटिएको टिकट यो अफरमा मान्य हुने बताइएको छ । यो अफरमा मद्यपान र धूम्रपानको भने छुट प्राप्त हुने छैन ।
डिनेष्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा शङ्कर कोइरालाको निर्देशन रहेको छ । यसमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ ।
यसमा आनन्द विक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन रहेको छ भने दीपेन्द्र गौतमको प्रोडक्सन डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ । रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।































प्रतिक्रिया