काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ ।
फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरू अनुबन्धित गरेको निर्माणपक्षले थप दुई जना कलाकारहरू फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् ।
निर्माणपक्ष र उनीहरूबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाएको छैन ।
यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दै छन् । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत्त तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुबैका लागि विशेष हुने पक्का छ । जसकारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।
क्याप्टेनपछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लागेका हुन् । फिल्ममा हमालपछि यसअघि नै नीती शाह र सनिशा भट्टराई अनुबन्धित भइसकेकी छिन् । सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म ‘१२ गाउँ’ फूलपातीमा रिलिज हुँदै छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया