ज्वाइँ साबको ‘कसम बत्तीको’ गीत चर्चामा, विदेशबाट समेत चलचित्रको माग

ज्वाइँ साबको ‘कसम बत्तीको’ गीत चर्चामा, विदेशबाट समेत चलचित्रको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो ।

त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ ।

फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्‍याएको निर्देशक वसन्त निरौलाले बताए । “पोस्टर र टिजरले चलचित्रको हाइप क्रिएट गरेको थियो,” उनले भने, “कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग बढिरहेको छ ।”

उनले विदेशमा र नेपालमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए । चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए ।

‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । यसमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन् भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल र प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन् । संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ । एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका छन् ।

‘ज्वाइँ साब’को प्रचारप्रसारदेखि लिएर विदेशी बजारमा यसको मागले चलचित्रलाई अझै व्यापक बनाएको छ ।

Logo