‘अग्निदहन’ का कलाकार घिमिरे भन्छन् – सामाजिक विषयमा फिल्म बन्दै छ भनेपछि काम गर्न सहमत भएँ

‘अग्निदहन’ का कलाकार घिमिरे भन्छन् – सामाजिक विषयमा फिल्म बन्दै छ भनेपछि काम गर्न सहमत भएँ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदै छन् ।

उनीसँग फिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः–

अग्निदहनमा कसरी जोडिनुभयो ?
म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदै छौँ, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें ।

पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दै छ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।

ट्रेलर हेर्दा तपाईं ‘बोक्सी हुँदैन’ भन्ने मान्यता राख्नुहुन्छ । वास्तविकतामा तपाईंको मान्यता त्यही हो ? किन ?
म ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छु । मानिसमा मानसिक रोग हुन्छ । त्यो रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले ।

तपाईंको बुझाइमा समाजमा साँच्चै बोक्सी छन् त ?
हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन् । पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए ।

अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे । खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरूमा मानसिक रोग देखिएको हो । धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।

महिलालाई बोक्सीको आरोप किन लगाइदो रहेछ ?
बोक्सी भन्ने कुरा मान्छेले आफैंले खडा गरेको चिज हो । मान्छेभित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन । को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ । मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरूलाई अनेक यातना दिइने गरिन्छ । त्यो गलत हो । रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो ।

Logo