काठमाडौं । अब नेपाली फिल्म र संगीतको पोस्ट–प्रोडक्सन कार्यका लागि विदेश जानु नपर्ने भएको छ । विश्वस्तरीय ध्वनि प्रविधि डल्बी एट्मसको गुणस्तरीय सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यसहित अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुककै पहिलो डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।
चार दशकभन्दा लामो सांगीतिक इतिहास बोकेको म्युजिक नेपालले ‘म्युजिक नेपाल अडियो भिजुअल’ नामक नयाँ कम्पनीको औपचारिक शुभारम्भ गरेको हो । गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालय परिसरमा स्थापना गरिएको उक्त अत्याधुनिक स्टुडियोको शुक्रबार आयोजित विशेष समारोहबीच औपचारिक घोषणा गरियो ।
म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार स्टुडियो आजदेखि नै औपचारिक रूपमा सञ्चालनमा आएको छ । दक्षिण एसियामा भारतपछि डल्बी एट्मस स्टुडियो विस्तार गर्ने दोस्रो मुलुक नेपाल बनेको छ, जसलाई नेपाली चलचित्र तथा संगीत उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
स्टुडियोको सेटअपदेखि सञ्चालनसम्म डल्बी भारतका निर्देशक समीर सेठ, वरिष्ठ साउन्ड इन्जिनियरहरू दमन सुद र भरत रेड्डी काठमाडौंमा रहेका छन् । बलिउडका सुप्रसिद्ध साउन्ड इन्जिनियर दमन सुदले यसअघि सन् १९९१ मा म्युजिक नेपालको पहिलो तथा दोस्रो स्टुडियो पनि स्थापना गरेका थिए । यश चोपडा, करण जोहर र संजय लीला भन्सालीजस्ता चर्चित निर्देशकहरूसँग काम गरिसकेका सुद पछिल्लो समय नेपालमै रहेर काम गरिरहेका छन् ।
स्टुडियोमा सम्पादन, डीआई डिजिटल इन्टरमिडिएट, रेकर्डिङ, ७.१ प्रि–मिक्स तथा डल्बी एट्मस मिक्सिङलगायत फिल्मका सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य गर्न सकिने व्यवस्था गरिएको छ । “फिल्म सुटिङ सकेर आएपछि आवश्यक पर्ने सबै पोस्ट–प्रोडक्सन काम अब यहीँ सम्भव छ,” शर्माले बताए ।
प्रचारका रूपमा स्टुडियो बुक गर्ने पहिलो तीन परियोजनालाई ५० प्रतिशत तथा जनवरी ३१ सम्म बुकिङ गर्नेहरूलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। समारोहमा डल्बी भारतका निर्देशक समीर सेठले नेपालमा पनि अब अन्तर्राष्ट्रिय स्तरका फिल्म निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।
नेपाली चलचित्रका मह जोडि तथा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले डल्बी एट्मस प्रविधिका कारण दर्शकले अब फिल्म हेर्दा नयाँ र फरक अनुभव प्राप्त गर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रविधिले नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थप्ने धारणा राखे ।
स्टुडियोका प्रत्येक कक्षलाई सगरमाथा, ल्होत्से, धौलागिरी, अन्नपूर्ण, मनास्लुजस्ता ८ हजार मिटरभन्दा अग्ला हिमाल तथा राष्ट्रिय चरा डाँफेको नाम दिइएको छ । सगरमाथामा एट्मस मिक्सटेज, मनास्लुमा मल्टिपर्पोज रुम, अन्नपूर्णमा एडिट स्विट, डाँफेमा डीआई रुम, धौलागिरीमा रेकर्डिङ तथा ल्होत्सेमा मिक्सिङ कार्य गरिनेछ ।
यसअघि डल्बीका साउन्ड इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा २० जना नेपाली व्यावसायिक साउन्ड इन्जिनियरलाई ध्वनि प्रविधिबारे तालिमसमेत दिएका थिए । डल्बी एट्मस स्टुडियो सञ्चालनमा आएसँगै नेपाली फिल्म र संगीत उद्योगले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नयाँ ढोका खुलेको विश्वास गरिएको छ।






























प्रतिक्रिया