केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ पुस ।
केही समयअघि बेलायती राजधानी लन्डनमा भब्य ‘रेड कार्पेट’ गरेको चलचित्र ‘ह्याप्पी डेज’ निर्माणताकादेखि नै चर्चाको विषय बन्दै आएको छ । यही क्रममा यस चलचित्रको ट्रेलर पुस ६ गते सार्वजनिक हुँदैछ ।

बहुप्रतीक्षित मानिएको चलचित्र ‘ह्याप्पी डेज’को प्रदर्शन मिति निर्माण पक्षले आउँदो माघ १२ गतेलाई पक्का गरिसकेको छ । हालसम्म यस चलचित्रका दुईवटा गीत पनि सार्वजनिक भइसकेका छन् । ‘युट्युब’ मा सार्वजनिक ‘चेप्टे चेप्टे पेरुंगो’ र ‘तिमी बिना’ बोलका गीतहरूले निकै चर्चा समेत पाइसकेका छन् ।
चलचित्रको कथावस्तु र गीत एवम् संगीतपक्ष निकै अब्बल रहेको निर्देशक तथा निर्माता मिलन चाम्स बताउँछन् ।

पैसा कमाउन सपना बोकेर विदेश हिँडेका दुई युवाको संघर्षको कथा बोल्छ, यस फिल्मले । चलचित्रको छायांकन नेपाल, लन्डन, वेल्स र स्कटल्याण्डमा गरिएको हो ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुनलगायत विभिन्न कलाकारको अभिनय छ भने सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतको संयुक्त कथानक छ । चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत छ भने सम्पादनकार्य अर्जुन जिसीले गरेका छन् ।

चलचित्रलाई रामकुमार केसीले छायांकन गरेका छन् । चलचित्रमा निर्देशक मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । अशोक बंशल, भवानी शर्मा, हिरालाल जोशी र मिलन चाम्स यस चलचित्रका निर्माता हुन् ।

































प्रतिक्रिया