‘रोल नं १’ को दोस्रो हप्तामा आक्रामक सुधारः काठमाडौंमा ८० प्रतिशत अकुपेन्सी, अधिकांश साँझका शो हाउसफुल

‘रोल नं १’ को दोस्रो हप्तामा आक्रामक सुधारः काठमाडौंमा ८० प्रतिशत अकुपेन्सी, अधिकांश साँझका शो हाउसफुल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुरुवाती दिनमा अपेक्षाकृत चाप नदेखिए पनि सिनेमा ‘रोल नं १’ले दोस्रो हप्ताको सुरुदेखि नै दर्शक संख्यामा उल्लेख्य वृद्धि गरेको छ ।

शनिबार (आज) यो चलचित्रमा दर्शकको चाप उच्च बिन्दुमा पुगेको छ। काठमाडौं उपत्यकाका प्रायः सबै शोमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको छ भने बाहिरी जिल्लाहरूमा ४५ प्रतिशतभन्दा माथिको अकुपेन्सी दर्ता भएको छ। केही शो पूर्ण रूपमा हाउसफुल समेत भएका छन् ।

विशेषगरी साँझका शोहरूप्रति देखिएको आकर्षणले चलचित्रको पुनरुत्थानलाई पुष्टि गरेको छ । आज अधिकांश साँझका शो दिउँसैदेखि अग्रिम बुकिङले भरिइसकेका थिए । निर्माता विनोद पौडेलले फेसबुकमार्फत यो सकारात्मक परिवर्तनलाई सांकेतिक भाषामा यसरी व्यक्त गरेका छन्ः “हिजोसम्म बामे सरेको हाम्रो सिनेमा रोल नं १ आजबाट हिँड्न सुरु गर्यो ।” उनको यो भनाइ आजको हाउसफुल शोहरूसँग मेल खान्छ ।

बलियो ‘वर्ड अफ माउथ’ ले नै यो उछाल सम्भव भएको निर्माण टिमको बुझाइ छ । सिनेमा हेरिसकेका दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले अनिवार्य रूपमा हेर्नुपर्ने चलचित्रको रूपमा तारिफ गरेपछि सकारात्मक प्रभाव स्पष्ट देखिन थालेको हो । बालमनोविज्ञानको कथालाई केन्द्रमा राख्दै यो सिनेमाले विद्यमान शैक्षिक मूल्यांकन विधिमाथि प्रश्न उठाएको छ, जसलाई दर्शकले उच्च रुचाएका छन् ।

सिनेमाको कथा मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी रहेका छन् भने बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ प्रमुख छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमालाई जोन योञ्जनले निर्देशन गरेका हुन्। निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

लेखन महेश दवाडीले गरेका हुन् । शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन रहेको ‘रोल नं १’ले अहिले प्राप्त गरेको मौखिक प्रचारले आगामी दिनहरूमा थप दर्शक तान्ने अपेक्षा गरिएको छ ।

Logo