प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

पालुङटार (गोरखा) । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ । गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको सक्रिय पहलमा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।

शिक्षामा डिजिटल पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय र अन्तरक्रियात्मक शिक्षणसँग जोड्न स्मार्ट बोर्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ । यस प्रविधिले कक्षाकोठाको पढाइलाई थप प्रभावकारी बनाउनुका साथै शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ । विश्व तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको सन्दर्भमा यस्ता उपकरणले विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिकका रूपमा तयार पार्न महत्त्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बैंक प्रतिनिधिले प्रभु बैंकले शिक्षा, नवप्रवर्तन र सामुदायिक विकासलाई सदैव प्राथमिकतामा राखेको बताए । “डिजिटल विभाजनलाई न्यूनीकरण गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नु हाम्रो साझा दायित्व हो । यो स्मार्ट बोर्ड विद्यालयको शैक्षिक वातावरणलाई आधुनिकीकरण गर्ने एउटा सार्थक प्रयास हो,” उनले भने । साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सीएसआर कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बैंकको यस सामाजिक पहलको मुक्तकण्ठले प्रशंसा गर्दै यसले विद्यार्थीहरूको सिकाइ स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । विद्यालय परिवारले प्रभु बैंकप्रति आभार प्रकट गर्दै प्राप्त प्रविधिको अधिकतम उपयोग गरिने जनाएको छ ।

Logo