भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसीको को–स्टार बनेर डेब्यु गर्ने मौका पाएसँगै साम्राज्ञी आरएल शाहको भाग्य चम्कियो। अनमोलसँग जोडी बनेर मात्र होइन, उनकै खुबीको कारण उनी अगाडि बढिन्। त्यसपछि आफू अभिनित फिल्ममार्फत उनले स्टारडम बढाउँदै लगिन्।
तर, स्टारडमसँगै पब्लिक फिगर भएपछि सोसल मिडियामार्फत दर्शकसामु पुग्ने सिलसिलामा चुक्दा उनी विवादित पनि भइन्। चर्चामै रहँदा साम्राज्ञीलाई धेरै म्युजिक भिडियो अफर भएका छन्। यद्यपि, उनले नट्टु शाहको भिडियो र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग अभिनय गरिन्।
म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्ने साम्राज्ञी पछिल्लो समय भने भिडियोमा लगातार देखापरि रहिन्। दुई साताको अन्तरालमा उनका दुई भिडियो रिलिज भए।
निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राजरोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन सेयर गरिन्। ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतमा उनलाई दर्शकले भिडियोमा देखे।
त्यसपछि उनलाई दर्शकले ‘प्रभाव’ बोलको गीतमा देखे। प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वरमा रहेको गीतमा उनले विवेक खड्कासँग स्क्रिन सेयर गरिन्। तर, दुई गीतले नै उनलाई चर्चामा ल्याउन सकेन।
फिल्ममा ‘डिमाण्ड’ रहेकी एक्ट्रेसलाई भिडियोमा अभिनय गराउँदा पाइने हाइपको अपेक्षामा रहेका भिडियो निर्माता खिस्स भए। भ्युजको आधारमा ‘माया पिरेम’को केही बढी देखिए पनि ‘प्रभाव’को भ्युज निकै न्यून छ।
साम्राज्ञीको नामको असरले पनि भिडियोलाई केही फरक नपारेको अनुमान सहजै लगाउन सकिन्छ। एक भिडियो निर्देशकले उनले निम्त्याउने गरेको विवादले उनको क्रेजलाई असर गरेको हुन सक्ने संकेत गरे। नाम नखुलाउने सर्तमा ति निर्देशकले भने, ‘उनको कामभन्दा पनि व्यक्तिगत ईस्यूको चर्चा धेरै भयो। सायद त्यसले पनि उनको क्रेज कम गरिरहेको हो कि।’ त्यसो त डेब्यु फिल्मपछि उनलाई प्रेमजीवनले धेरै नै चर्चामा ल्याउने गरेको छ।
कामभन्दा बढी अन्य कुराले चर्चामा रहने गरेकी साम्राज्ञीलाई फिल्ममा भने भ्याइनभ्याइ नै छ। तर, उनको मात्र क्रेजको मापन सार्वजनिक दुई भिडियोले पनि गरिरहेको छ। किनकि त्यहाँ चिनिएको अनुहार उनकै नै छ र उनलाई ’फ्री’ मै हेर्नेको संख्या पनि न्यून छ।





























प्रतिक्रिया