मिथिला माध्यमा परिक्रमा आजदेखि सुरु

मिथिला माध्यमा परिक्रमा आजदेखि सुरु


मिथिला क्षेत्रमा महाकुम्भको रुपमा परिचित रहेको मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । 

बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरु जम्मा भइसकेका छन् । मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्त्य गृहसहित तीनटा परिक्रमा हुनेगर्छ । मध्यमा र अन्त्यगृहमा लाखौंको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन् । नेपालको १०७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १३० किलोमिटरको परिक्रमाको प्रारम्भ कल्याणेश्वरबाट हुन्छ ।

फागुन प्रतिपदाका दिन भक्तजनहरु कल्याणेश्वर पुग्छन् । एक रात पहिले नै आमावस्याका दिन जनकपुरको हनुमाननगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ ।

हनुमाननगरबाट कल्याणेश्वर १३ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्छ । कल्याणेश्वरबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ ।

दोस्रो बास महोत्तरीको मटिहानीमा हुन्छ । तेस्रो दिन जलेश्वर, चौंथो दिन मड़ै, पाँचौं दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षीरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कल्याणेश्वरमा पुगेर परिक्रमाको पूर्णाहुती हुन्छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णीमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्छन्। परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ।

Logo