आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुशीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ्ग दलेर मनाउने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङ्गहरूको आ–आफ्नै महत्व रहेको छ। नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ्ग भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ्ग हो । भगवान गणेशलाई सबै रङ्ग मन पर्ने तथा रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।
सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलीकालाई प्रहृलादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफैं जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको हाे।
होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ।































प्रतिक्रिया