अमेरिका (गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३-२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी (राष्ट्रिय समन्वय परिषद)लाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई अगाडी बढाउन आफूले उम्मेदवारी गरेको बताए।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै सुवेदीले आफु महत्वाकांक्षी भएर हैन, २०२१–२३ कार्यकालमा एनसीसी अमेरिकामा आफूले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए।
उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफू अगाडी आएको बताउँदै संस्थालाई बलियो बनाउन आफूले इमान्दारीपूर्वक काम गर्ने बताए। उनले काठमाडौँमा हुन गइरहेको ११ औँ विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे।
संसारभरि रहेका गैरआवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसँग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफूले उम्मेदवारी दिएको उनले बताए।
महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउँदै तेश्रो पुस्ता पछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफूले आवाज उठाउने बताए।
एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुनः संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफू लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।
उक्त अवसरमा एनआरएनए अष्ट्रियाकी निवर्तमान अध्यक्ष भवानी तिवारी, फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल, एनआरएनए इटालीका निवर्तमान अध्यक्ष छबिलाल कंडेल, क्यानाडाका निवर्तमान अध्यक्ष दिपक गौतम रसियाका निवर्तमान अध्यक्ष शिवमणि भुर्तेल, जापानका निवर्तमान अध्यक्ष शिव पौडेल, एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, पूर्व महासचिव अन्जन चौलागाईं, पूर्व उपाध्यक्ष डिलु पराजुली, विश्वनाथ बराल, आइसीसी सदस्यद्वय नारायण कँडेल, बिनोद तिवारी,एनआरएनए अभियन्ताहरु डा यादव पण्डित, एनआरएनएका युवा उपाध्यक्ष रोशन थापा, एसिया प्रशान्त क्षेत्रका पारसमणि पोख्रेल लगायतका वक्ताले सुवेदी हरेक किसिमले सक्षम, योग्य र सबैको साझा व्यक्तित्व भएको र एनआरएनभित्र रहेका विकृति तथा विसंगति हटाउन पनि सुवेदीलाई विजयी बनाउन आग्रह गर्दै शुभकामना पनि दिएका थिए। आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गइरहेको संघको ११ औँ विश्व अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ।





























प्रतिक्रिया