भारतमा एक नेपालीको हत्या

भारतमा एक नेपालीको हत्या


भारतमा एक नेपालीको हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।

भारतको पिथौरागढ जिल्लाको बृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । चन्द भारतमा मजदूरी गर्दै आएका थिए ।

जेठ ६ गते नै हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।

जीपका सहचालक रहेका उनले मादक पदार्थ सेवन गरी विवाद हुँदा फलामको रडले चन्दको टाउकोमा हिर्काएको बयान दिएका छन्  । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीसँग दिएको बयानमा बताएका छन् ।

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको छ ।

Logo