इपीएस भाषा आवेदनबाटै २४ करोड कोरिया सरकारको खातामा

इपीएस भाषा आवेदनबाटै २४ करोड कोरिया सरकारको खातामा

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । कोेरियन भाषा परीक्षाको लागि ९२ हजार नेपालीले आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत कामको लागि कोरिया जान भाषा परीक्षाको लागि ९२ हजार ३ सय १९ जनाले आवेदन दिएका हुन् । ईपीएस कोरिया शाखा निर्देशक कृष्ण खनालले गत वर्षभन्दा १० हजार बढीले आवेदन भरेको जानकारी दिए ।

गत वर्ष ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । यो वर्ष पहिलो पटक अनलाईन मार्फत आवेदन भर्न सकिने व्यवस्था गरिएको थियो । २०२० को लागि कोरिया जान भाषा परीक्षा दिनेहरुको संख्या मागभन्दा ८२ हजार बढी हो । २०२० मा १० हजार नेपालीले कोरिया जान पाउनेछन् ।

भाषा परीक्षा २०७६ जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशित हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

यो वर्ष साढे ६३ हजारले उत्पादनमुलक क्षेत्रमा जानका लागि भाषा परीक्षा दिनेछन् । कृषि तथा पशुपालन समूहमा झण्डै २९ हजार आवेदन परेको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउँछन् । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्न पाइन्छ ।

कोरियन भाषा परीक्षाको लागि २४ डलर तिर्नुपर्ने हुन्छ । २६ सय रुपैयाँ भन्दा बढी आवेदन भर्न नै तिर्नुपर्छ । यो वर्ष आवेदन भरेका नेपालीहरुले तिरेको भाषा परीक्षा शुल्कको हिसाव गर्दा २३ करोड ९९ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ । यति मोटो रकम ईपिएस मार्फत कोरिया सरकारको खातामा जान्छ ।

गत वर्ष मात्रै ८२ हजार जनाले आवेदन भर्दा २० करोड भन्दा बढी रकम नेपालीले तिरेका थिए । गणतन्त्र कोरियाले नै सबै कुरा फाईनल गर्ने भएकाले नेपालीहरुले आवेदन भर्दा तिर्नुपर्ने २४ डलर शुल्क कोरिया सरकारकै खातामा जाने ईपीएस कोरिया शाखाले जनाएको छ ।

त्यस्तै सन् २०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए । २०१७ मा १७ करोड, २०१६ मा १५ करोड रुपैयाँ नेपालीले भाषा परीक्षाको लागि तिरेका थिए ।

भाषा सिक्नमै बार्षिक एक अर्बः
कोरियन भाषाको लागि नेपालीले प्रत्येक वर्ष कोरियन भाषाको कक्षा लिन्छन् । कम्तिमा ३ महिनाको कोर्षका लागि इन्स्टिच्युटहरुले १० हजार रुपैयाँ लिने गर्छन् । यो वर्ष भाषा परीक्षाको लागि आवेदन भरेकाहरुको हिसाव गर्दा ९० करोड भन्दा बढी खर्च भएको देखिन्छ । यसलाई आधार मान्नेहो भने प्रत्येक वर्ष ५० करोड भन्दा बढी त भाषा सिक्न मै खर्च भएको छ ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाउँछन् । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । कोरिया जानको लागि भन्दै प्रत्येक वर्ष नेपालीहरुले शुल्कको नाममा मात्र करोडौं रुपैयाँ खर्च गर्दै आएका छन् ।

अहिलेसम्म नेपालबाट रोजगारीका लागि करिब ४३ हजार कोरिया पुगिसेका छन् । कोरिया जान खर्च पनि कम लाग्ने र तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् ।

उनीहरुले बुझाएको रकमको हिवास गर्दा १ अर्ब २० करोड भन्दा बढी हुन आउँछ । नेपालीहरुले कोरियाबाट बार्षिक १ अर्ब भन्दा रकम नेपाल पठाए पनि शुल्कै नाममा बार्षिक २० करोडभन्दा बढी कोरिया सरकारको खातामा गईरहेको छ ।

Skip This
Skip This
Logo