५४५ नेपाली विदेशी जेलमा, २४ जना ‘कोमा’ मा

५४५ नेपाली विदेशी जेलमा, २४ जना ‘कोमा’ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ५ सय ४५ नेपाली विभिन्न देशका जेलमा रहेका छन् । वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा पुगेका ५ सय ४५ जना नेपाली जेल परेका हुन् । १९ महिला र ५ सय २६ पुरुष जेलमा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

सबैभन्दा बढि मलेसिया २ महिलासहित २ सय ५ जना नेपाली जेल परेका छन् । त्यस्तै युएईमा १२ महिलासहित १ सय ८५ जना र कुवेतमा ३ महिलासहित ५८ जना जेलमा रहेका छन्।

ओमानमा दुई महिला र एक पुरुष, साउदीको जेद्दामा ३१, साउदीको रियादमा २३, कतारमा ३५ र बहराइनमा ५ जना नेपाली जेलमा रहेको बोर्डले जनाएको छ ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न देशका अस्पतालका कोमामा २४ जना नेपाली रहेको छन् । आफ्नो ८ महिनाको प्रगति सार्वजनिक गर्दै बोर्डले ३ महिला र २१ जना पुरुष कोमामा रहेको जनाएको हो । सबैभन्दा बढि कतारमा ९ जना पुरुष कोमामा छन्।

कुवेतमा एक महिलासतिह ४ जना, साउदीको जेद्दामा एक र रियादमा एक महिलासहित ४ जना कोमामा रहेका छन्। त्यस्तै बहराइनमा ४ पुरुष तथा युएईमा एक महिला र ओमानमा एक जना पुरुष कोमामा रहेका छन्।

जेलमा परेका नेपालीलाई देश फर्काउनका लागि आवश्यक कानूनी सहयोगको व्यवस्था गर्न बोर्डले सम्बन्धित देशका कुटनीतिक नियोगमार्फत सहयोग गरिरहेको जनाएको छ ।

उनीहरुलाई स्वदेश फिर्ता गरी उपचारको व्यवस्था मिलाउन, सम्बन्धित देशका नियोग, परिवारका सदस्य र सरकारी अस्पतालसँग समन्वय भईरहेको बोर्डले जनाएको छ ।

बोर्डले गत साउनदेखि यता विदेशमा ज्यान गुमाएका ५ सय २४ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। १६ जना महिला र ५ सय ८ जना पुरुषका परिवारलाई ३४ करोड २५ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।

विदेशमा ज्यान गुमाएका मध्ये ५७ जनाको शव झिकाउन ६९ लाख ४९ हजार ७ सय ६ रुपैयाँ प्रदान गरेको र देशभित्र आइसकेका ५ सय १९ जनाको शव घरसम्म पुर्‍याउनका लागि १ करोड २ लाख १३ हजार ६ सय ६७७ रुपैयाँ प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

यस्तै आठ महिनामा २ सय १ जना अंगभंग तथा विदेशमा बिरामी भएकाहरुलाई पनि बोर्डले आर्थिक सहायता दिएको छ। १ सय ९५ पुरुष र ६ जना महिलाका लागि ४ करोड ३८ लाख ६६ हजार ५० रुपैयाँ प्रदान गरेको बोर्डले जनाएको छ। वैदेशिक रोजगारीका क्रममा हराएका ८९ जना नेपालीलाई खोजी गर्न बोर्डले २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

१७ कामदारका परिवारलाई स्वास्थ्य उपचार वापत ८ लाख १५ हजार सहयोग गरेको पनि बोर्डले जनाएको छ। बोर्डको निरीक्षण गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बोर्डको कामलाई सहज र पारदर्शी बनाउने निर्देशन दिए ।

बोर्डमा पीडित परिवार आइपुग्ने भएकाले उनीहरुको भावनामा चोट नपुग्ने गरी काम गर्न निर्देशन दिएका हुन् । यसअघि नयाँ बोनेश्वरमा रहेको बोर्डको कार्यालय बवरमहलमा सारिएको छ ।

Photo: truthout.org

Logo