माघ पहिलो साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाने

माघ पहिलो साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माघ पहिलो साता स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका हुन्।

प्रधानमन्त्री ओली माघ ६ गते त्यस तर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । जनवरी २२ देखि २५ (माघ ८ गते देखि माघ ११ गते) सम्म स्वीट्जरल्याण्डको डावोसमा हुने बैठकमा पहिलो पटक नेपालबाट प्रधानमन्त्री जान लागेका हुन् ।

यसअघिका बैठकमा राजदूत वा अन्य कर्मचारी सहभागी हुदैं आएका थिए । पहिलो पटक प्रधानमन्त्रीस्तरको लागि भ्रमण निम्ता आएको प्रेस सल्लाहकार अर्यालको भनाई छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र, मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत १९ जना सहभागी हुनेछन् ।

सम्मेलनमा विश्वभरका विभिन्न देशबाट २५० भन्दा बढी राजनीतिक नेतृत्व सहभागी हुने छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टाटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागिता जनाउने कायक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री ओलीले ‘विओण्ड दी जीडीपी’ सेसनमा समेत सहभागिता जनाउनेछन् ।

डाभोस सम्मेलनमा जि २० सहितका देशका प्रमुखहरु उपस्थित हुनेछन् । यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बैठकमा सहभागी हुने बताइएको थियो।

उनले एक महिना अगाडि बैठकमा सहभागी हुने जनाए पनि तीन दिन अगाडि मात्र आफ्नो सहभागीता अस्वीकार गरेका थिए । देशभित्रको तनावका कारण उनी बैठकमा सहभागी नहुने बताएका हुन्।

प्रधानमन्त्री ओलीको स्वीट्जरल्याण्ड भ्रमणका क्रममा केही महत्त्वपूर्ण भेटवार्ता हुने छन् । परराष्ट्र मन्त्रालयले डावोस साइडलाइनमा केही मत्त्वपूर्ण भेटवार्ताको तयारी गरिरहेको छ।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासँग भेटवार्ता गर्नेगरी तयारी भईरहेको छ । त्यस्तै अन्य केही देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग पनि भेटवार्ताको लागि पनि पहल भईरहेको छ ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत रहेको छ । नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन्।

कुटनीतिक सम्बन्धको वर्षगाठ मनाउने क्रममा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने सहमति भएको छ। सोही सहमति अनुसार प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हा।

Logo