संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले शनिबार आयोजित एक विशेष समारोहका बीच क्यालिफोर्नियामा एक कृषि फार्मको उद्घाटन गरेका छन्।
नेपालीको संयुक्त लगानीमा स्थापित ओहो भेन्चर एलएलसी कम्पनीद्वारा संचालित सो कृषि फार्ममा हाल खसी र गाईपालन गरिनुका साथै मकैखेती पनि सुरु गरिएको छ।
हाल क्यालिफोर्निया भ्रमणमा रहेका राजदूत खतिवडा सो स्थलमा पुग्दा कम्पनीका संचालक तथा नेपाल खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिना, संचालक तथा पूर्वप्रहरी अधिकारी सागर थापा तथा पूर्वराष्ट्रिय खेलाडी पदम तामा ले स्वागत गरेका थिए।
सो अवसरमा राजदूत खतिवडाले नेपालीले विदेशमा संचालन गरेको व्यवसायको सरहना गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए।
कम्पनीका संचालकहरुले आफ्नो योजनाका बारेमा जानकारी गराएका थिए। संचालकहरुका अनुसार सबै निर्माणका प्रक्रिया पुरा भैसकेका कारण तत्काल खसीको मासु बिक्री पनि सुरु गर्न लागिएको छ।
नेपालीको महान चाड दशैं नजिकिँदै गएकाले त्यसका लागि विशेष तयारी समेत गरिएको कार्यक्रममा जानकारी दिइयो। सो फार्म क्यालिफोर्नियाको चर्चित शान्ता रोजाको कोताटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ।
प्रतिक्रिया