दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आइतबार स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो ।

निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए। उक्त जहाजले काठमाडौँबाट दुबई उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।

उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । उक्त दिन दुबइबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुलाई आइतबार काठमाडौँ ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ ।

हिमालयका दुबै जहाज गए राति गन्तब्यतर्फ उडेको विमानस्थलले जनाएको छ । आइतबार नै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गो काठमाडौँ ल्याएको छ । सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिका सार्वजनिक गरेको छ ।

Logo