परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।
आईतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए ।
उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए । दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने उनले बताए । उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताए ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा आउँदैछन् ।
मन्त्री खड्काले भने- ‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु । यो चापलाई जकिसक्दो चाँडो खुलाउनुप-यो भनिरहेको छु । भोलि चिनियाँ राष्ट्रिय काँग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । यसबारेमा मसँग पर्सिं शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला । यसलाई म तदारुकताका साथमा दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने हिसावले पहल गर्नेछु । यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ ।’
ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए । त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने उनले बताए ।
नेता बस्नेतले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए ।































प्रतिक्रिया