दशैं बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

दशैं बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह


बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । 

सोमबारदेखि बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिषद वालमन्दिरमा दशैंसस्तो बजार सञ्चालन गरिएको हो । सस्तो बजारको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको बिक्रीवितरण गरिने जानकारी गराए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । उनले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईमा गुणस्तरको कमी भएको पाइएको भन्दै उपभोक्ता मूल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राखे । 

जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले आपराधिक गतिविधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए । नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मुल्यवृद्धि भएको भनाई राखिन् । 

पञ्चमीसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसबरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल, चिया, कफी, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामानसहित अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूलहरूको विक्री वितरण गरिएको छ । 

यस्तै दशैं बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था समेत मिलाइएको छ । 

Logo