‘पूर्व-पश्चिम रेल बनाउन १२ खर्ब रुपैयाँ लाग्छ, सरकारले सक्दैन’ -मन्त्री राई

‘पूर्व-पश्चिम रेल बनाउन १२ खर्ब रुपैयाँ लाग्छ, सरकारले सक्दैन’ -मन्त्री राई


भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । 

सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले केपी ओली सरकारले कुनै अध्ययन बिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए । 

मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व–पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए । उनले पूर्व–पश्चिम रेल औचित्य र आवश्यकताको आधारमा बनाउनको लागि १२ खर्ब रुपैयाँ लागत लाग्ने दाबी गरे । 

मन्त्री राईले जग्गाको मुआब्जा लगायत प्रत्येक वर्ष हुने मूल्य समायोजको आधारमा रेल सञ्चालन गर्दासम्म २४ खर्ब रुपैयाँ लाग्ने बताए । उनले देशको बजेट ४ खर्ब रहेको र बजेट कार्यान्वयन ३ खर्ब रहेकाले सरकारले आफ्नो लगानीमा रेल बनाउन नसक्ने स्पष्ट पारे । उनले कुनै विदेशी दातृ निकायले रेल पूर्वाधार बनाइदिने र सञ्चालन गरेको खण्डमा मात्र पूर्व–पश्चिम रेल प्राथमिकताका आधारमा बनाउन सकिने बताए । 

उनले देशको अहिलेको अवस्था र स्रोतको आधारमा पूर्र्व–पश्चिम रेल निर्माण गर्नसक्ने अवस्था नभएको स्पष्ट पारे ।  सरकारको लगानीमा पूर्व–पश्चिम रेल मात्रै नभएर पानी जहाज सञ्चालन गर्न सम्भव नभएको पनि उनले बताए । उनले नेपालले भारतको कोलकत्ताबाट श्रीलंका व्यापारीक नाकामा नेपाली झण्डाको पानी जहाज सञ्चालनको अनुमति भने दिन सक्ने बताए ।  

मन्त्री राईले सरकारले गर्ने विकास निर्माणको ठेक्का प्रक्रियाको काममा अदालतले असहयोग गरेको बताए। उनले सरकारले विकास निर्माण कार्यमा गरेका निर्णयलाई अदालतले स्टेअडरमार्फत रोक्ने काम गरेको बताए । उनले ठेक्का लिएर मोविलाइजेसन लिने अदालतमा मुद्दा हाल्न जाने गरेको बताए । 

उनले ठेकेदारहरु सरकारबिरुद्ध जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म जाने गरेको र अदालतले पनि जस्तोसुकै निर्णयमा स्टेअर्डर दिने गरेको बताए । उनले ठेक्का प्रक्रियाको विषयमा अदालतहरुमा पनि क्षेत्राधिकार अनुसार मुद्दा लिनुपर्ने बताए । 

मन्त्री राईले सार्वजनिक खरिद नियमावलीमा नै अब ३ पटकसम्म कालोसूचीमा गरेका ठेकेदार कम्पनीको लाइसेन्स रद्ध हुने व्यवस्था गर्नुपर्ने बताए । उनले सार्वजनिक खरिद नियमावली १२औं संशोधनले समेत काम गर्दै गरेकाको ठेक्का तोड्न नमिल्ने गरी म्याद थप्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ति जनाए । 
 
त्यस्तै मन्त्री राईले चालु आर्थिक वर्षभरी देशका मुख्य सडकमा बाढी,पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताए । 

उनले भने- ‘सडक बोर्डसँग रहेको ७ अर्ब ९२ करोड रुपैयाँ कानूनले फ्रिज गर्न नहुने व्यवस्था गरेको छ । बजेट जेठ १५ गते आएपनि कार्यक्रम बनाउँदा ४ महिना लाग्ने गर्छ । पहिलो चौमासिक पछि मात्रै कार्यान्वयनको चरणमा पुग्छ । सडक बोर्डको पैसा असार अन्तिममा पहिरो आयो । त्यो आकस्मिक रुपमा बोर्डको पैसा सडक मर्मतको लागि खर्च हुने हो । तर चालु आर्थिक वर्षमा त्यो पैसालाई अहिलेसम्म त्यो पैसालाई फ्रिज गर्ने नगर्ने जानकारी प्राप्त भएको छैन । मन्त्रालयमा अन्योलमा छ । बाहिर मन्त्रालयले गरेन भन्ने हुन्छ । अहिले ७ अर्ब ९२ करोडको सडक मर्मतको ठेक्का लागि सकेको छ । अब थप सडकमा बाढी पहिरो आयो, सडक बिग्रियो भने सडक बनाउनसक्ने चालु आर्थिक वर्षभर क्षमता वा पैसा छैन । त्यो पैसा खर्च गर्ने विषयमा स्रोतको सहमति प्राप्त भएको छैन ।’
 

Logo