म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरूप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरूप बिगार्ने समस्या देखिएको बताए । ‘अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैंचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौं,’ उनले भने, ‘सुन्तलाको दानालाई कुरूप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौं ।’

सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैंचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति १ लिटर पानीमा १० मिलिलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताए ।

यसैबीच यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैंचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई प्लाष्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो । 

आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई प्लाष्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैंचा छन् । 

७०६ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । गत वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट २ हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

Skip This
Skip This
Logo