एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुनःनियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको ५७३औं बैठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाई हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएकाे बैंकले बताएकाे छ ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।































प्रतिक्रिया