कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् ।
बिहीवार नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हु्न् । उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए ।
कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए ।
उनले भने- ‘भविष्यमा आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यवसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि ठूलो अवसर पनि हो । नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्छ । नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजन्य सामग्री चीन निर्यात गर्न सकिन्छ । चीनका बजारमा नेपाली वस्तु निर्यातका लागि प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ । यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक देखिन्छ । आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको हाम्रो देशको व्यापारको अवस्था भने सोचेको जस्तो छैन । वा सन्तोषजनक देखिँदैन ।’
कार्यवाहक राष्ट्रपति पुनले अगाडि थपे- ‘अहिले नेपालको व्यापार चीन र भारतसँग धेरै असन्तुलन रहेको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो छ । नेपालले चीनबाट १०० रुपैयाँको वस्तु आयात गर्दा ३० पैसा बराबरको मात्रै निर्यात गर्ने गरेका छौं । यस्तो हुने नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश होइन । अल्पविकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरुको भन्सार शुल्क शुन्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्छ । कोभिडको कारण चीनका नाकाहरुमा सहज नहुँदा समस्याहरु आएका छन् । नेपालहरुको आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्धि राष्ट्र निर्माणका लागि नेपाल सरकारले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । जबसम्म हामीले सबै क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौं । तबसम्म समृद्धि हासिल गर्न सक्दैनौं ।’
पुनले नेपाल एक चीन नीति प्रति संधै प्रतिवद्ध रहेको बताए । नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाईमा पुगेको उनले बताए ।
उनले भने-‘नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको छ । दुई देशबीच सुमधुुर मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास रहेको छ । नेपाल र चीनबीच १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएता पनि प्राचिन कालदेखि ऐतिहासिक सम्बन्धहरु रही आएका छन् । दुई वर्षअघि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएपश्चात सम्बन्ध नयाँ उचाईमा पुगेको छ । नेपाल एक चीन नीति प्रति सधैँ प्रतिवद्ध पनि छ । पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएका छन् । नेपालले थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेका छौं । आर्थिक कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने मैले विश्वास लिएको छु ।’





























प्रतिक्रिया