चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्यो, अनुगमन नै छैन

चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्यो, अनुगमन नै छैन


चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । 

सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । उनले पछिल्लो  समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए । 

पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको बताए । उनले दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको जानकारी दिए । उनले सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताए । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको उनको भनाई छ । 

उनले भने- ‘अहिले आयात खुला गरेपछि केही सस्तो भएर आएको छ । तर बजारमा मूल्य घटेको पाइँदैन । बजारमा मूल्य वृद्धि हुनु एक जना रिटेलमा सामान बेच्ने व्यापारीको कुनै हात हुँदैन । अहिले सबै सामानमा एमआरपी प्रिन्ट भएर आएको हुन्छ । त्यो भन्दा माथि गएर बेच्न सक्दैन । बजारमा वस्तुको मूल्य बढ्नुमा आयातकर्ता वा उत्पादक हुन्छ । अहिले जसरी बजारमा वस्तुको मूल्य बढेको छ त्यो अस्वाभाविक हो । अहिले मूल्य बढ्नुको कारण युक्रेन र रुसको युद्ध पनि होइन । डलरको मूल्य बढेर पनि होइन । चुनावको लागि ठूला व्यापारीहरुको खर्च र पार्टीहरुलाई चन्दा दिन्छ । चन्दा असुल्नको लागि पनि ठूला व्यापारीहरुले आफ्नो उत्पादनको मूल्य बढाएको देखिन्छ । अहिले तेलको मूल्य बढ्यो तेलको मूल्य बढ्नुपर्ने कारण छैन । निर्वाचनको समय बनाएर सरकारले बजार अनुगमन पनि नगर्ने देखेर व्यापारीहरुले फाइदा लिनको लागि खाद्य वस्तुको मूल्य बढाएका छन् । सरकारले उपभोक्ताको हीतमा चासो राखेको छैन ।’
 
त्यस्तै,कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल,दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको बताए । डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको उनको भनाई छ ।  

त्यस्तै, कुलेश्वमा खाद्यान्न किन्न आएकी विष्णु प्रधानले दाल चामल तथा तेलको मूल्य वृद्धि अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरिन् र भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीहरुले मूल्य नघटाएको बताइन् । 

उनले सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताइन् । 

बजारमा व्यापारीहरुले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । तर बजारमा उपभोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ । 

Logo