सार्वजनिक यातायातमा लापर्वाही बढ्यो, जोखिम निम्तियो

सार्वजनिक यातायातमा लापर्वाही बढ्यो, जोखिम निम्तियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सार्वजनिक यातायातमा स्वास्थ्य सम्बन्धी नियम कडा रुपमा लागू नगर्दा जोखिमको सम्भावना बढेको छ । सरकारले सार्वजनिक सवारी साधन खोल्ने निर्णय गरेसँगै सवारी साधनमा कोचाकोच गरी यात्रु राख्ने गरेपछि कोरोना संक्रमणको जोखिम बढेको हो ।

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड पनि सार्वजनिक यातायातहरुले पूरा नगर्दा जोखिम बढेको छ । त्यसका साथै उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि झनै जोखिम बढेको विज्ञहरुको भनाइ छ । ‘सवारीमा जोरबिजोर प्रणाली लगाउँदा झन जोखिम बढेको छ ।’ जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेले भने ।

सार्वजनिक यातायातमा यात्रु कोचेर राख्ने मात्रै होइन, स्वास्थ्य सम्बन्धी मापदण्ड पनि पूरा गरेको देखिँदैन । सरकारले सार्वजनिक सवारी साधन चलाउने चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनु पर्ने, उनीहरुसहित यात्रुहरुले पनि अनिवार्य रुपमा सेनेटाइजर प्रयोग गर्नुपर्ने, सहचालक र चालकले यात्रुसँग भौतिक दुरी कायम गर्नुपर्ने, एउटा सीटमा एक जना भन्दा बढी यात्रु राख्न नपाइने लगायतका व्यवस्था गरेको छ । तर सार्वजनिक यातायातहरुले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरेका छैनन् । सरकारले लकडाउन खुकुलो बनाउनुभन्दा पहिले यातायात व्यवस्था विभागले सार्वजनिक यातायात संचालन सम्बन्धी कार्यविधी बनाएको थियो ।

कार्यविधीमा यस्तो छ, सार्वजनिक सवारी साधन संचालन सम्बन्धी व्यवस्था सरकारले सार्वजनिक यातायात संचालन गर्न कार्यविधी बनाएको छ । सामाजिक दूरी कायम गरी स्वास्थ्य सम्बन्धी उपाय अपनाउँदै कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा सो कार्यविधी केन्द्रीत छ । सार्वजनिक सवारी संचालनमा ल्याएसँगै यो कार्यविधी लागू भएको छ । सो कार्यविधीमा सवारी साधन प्रत्येक खेपपछि निर्मलीकरण गर्नु पर्ने, यात्रुलाई अनिवार्य रुपमा स्यानिटाइजर उपलब्ध गराउनु पर्ने, भाडा दिँदा सकेसम्म अनलाईन प्रणाली तथा क्यासको हकमा बाकसको व्यवस्था गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था गरिनु पर्ने उल्लेख छ । त्यस्तै, यतिबेला सार्वजनिक सवारी साधन संचालन गर्दा सामान्य अवस्थामा जस्तो यात्रु कोचेर राख्न पाइने छैन । यात्रुसँग भौतिक सम्पर्क गर्न पनि नपाइने उल्लेख गरेको छ ।

रोगको महामारी नफैलियो भन्ने उद्देश्यले फोहोर फाल्न डस्बिनदेखि गाडीमा पंखाको पनि व्यवस्था गरिनु पर्ने सो कार्यविधीमा उल्लेख छ । तर सो कार्यविधीमा भाडाबारे भने केही उल्लेख गरिएको छैन । सरकारले भने ५० प्रतिशत भाडा वृद्धि गरेर सार्वजनिक यातायात संचालनको अनुमति दिएको छ । सार्वजनिक यातायातले पहिलेकै जस्तो कोचाकोच गरी यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोके अनुसार ५० प्रतिशत बढाएरै लिने गरेका छन् । राजधानीका काँठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा कोचिएर बस्नु पर्ने यात्रुको गुनासो छ ।

सरकारले कोरोनाबाट बच्च गत चैत्र ११ गतेदेखि लगभग चार महिना लामो लकडाउन गरेको थियो । कोरोनाको संक्रमण कम हुँदै गएपछि सरकारले गत असार २६ गतेदेखि अन्तर जिल्ला सार्वजनिक सवारी साधन संचालनको अनुमति दिएको थियो । साउन ७ गतेदेखि लकडाउनको अन्त्य गर्ने घोषणा गरेको थियो । लामो समयपछि लकडाउन खुलेकाले आम मानिसमा कोरोनाको जोखिम हट्यो भन्ने भ्रम भयो । जसका कारण निर्वाद रुपमा घुमफिर गर्न थाले । असन, न्युरोड, भोटाहिटी, महाबौद्ध लगायतका विभिन्न ठाउँमा पहिले जस्तै भीडभाड हुन थाल्यो । जसले पुनः जोखिम निम्त्यायो । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने कुनै पनि स्थानमा रोग सर्ने उच्च जोखिम हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताए ।

यातायात विभागको सवारी साधन अनुगमन

लकडाउन कुकुलो भएर सार्वजनिक सवारी साधन संचालनमा आएसँगै लापर्वाही बढेको भन्दै यातायात व्यवस्था विभागले अनुगमन समेत गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन, भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ । यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको विभागले जनाएको छ । यातायात विभाग अनुगमन शाखाका नायब सुब्बा केशबराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए । मास्क प्रयोग गरेको भए पनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने सवारी साधनलाई कारबाही गरेको समेत बताए ।

सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए ।

कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको विभागले जनाएको छ । सेनेटाइजरको सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको नायब सुब्बा जमरकट्टेलले बताए ।

भदौ १ गतेदेखि संचालन हुने भनिएका हवाई र लामो दुरीको यातायात १५ दिन सार्न सिफारिस

भदौ १ गतेबाट कुनै पनि व्यवसायिक हवाई उडान तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालन नहुने निश्चित भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा कोरोना संक्रमण बढेपछि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा संचालन नहुने भएका हुन् । कोभिड १९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि संचालन हुने भनिएको लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा १५ दिन पछाडि सार्न प्रस्ताव गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेको हो । सीसीएमसीले यस्तो निर्णय गरेसँगै लामो दूरीका सार्वजनिक सवारी साधन र हवाई सेवा भदौ १ गतेदेखि संचालन नहुने पक्का भएको छ ।

स्वास्थ्य सम्बन्धी सरकारले तोकेको मापदण्ड पूरा नगरे यस्तो छ कारवाहीको व्यवस्था

सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक सवारी संचालन नगर्ने जुनसुकैलाई पनि कडा कारवाही गरिने यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । सरकारले तोकेको मापदण्ड नमान्नेको गाडी कब्जामा लिएर दिनभरी होल्डमा राख्ने तथा तोकिएको सीट संख्या भन्दा बढी यात्रु राखे ३ हजार रुपैँयाँ बराबर जरिवानाको व्यवस्था गरेको महानिर्देशक हमालले बताए ।

कति लगानी छ यातायात क्षेत्रमा ?

कोरोना महामारी सुरु भएपछि त्यसको न्युनिकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । त्यस यता बन्द भएका सार्वजनिक यातायात पूर्णरुपमा संचालन हुन पाएका छैनन् । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बाैँ रुपैँयाँ जोखिममा परेको छ । सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको व्यवसायीको आँकलन छ । जसमा ८ खर्ब रुपैँयाँ बैंकहरुको मात्रै लगानी छ । लामो समयसम्म यातायातका साधनहरु थन्किँदा खिया लाग्ने र मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले त्यस्ता सवारीहरु मर्मत गरेर संचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ । अहिले यातायात क्षेत्रमा ३ लाख ५० हजारको हाराहारीमा सार्वजनिक सवारी साधनहरु संचालनमा छन् । जसमा ६० प्रतिशत स्वरोगार छन् । व्यवसाय ठप्प हुँदा उनीहरुको घर चल्नै समस्या भएको गुनासो आएपछि सरकारले अन्तर जिल्लाका सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको थियो ।

यस्तो छ ट्राफिक प्रहरीको कारवाही

ट्राफिक प्रहरीले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको छ । दैनिक जसो १५/१६ सयको हाराहारीमा ट्राफिक प्रहरीले कारवाही गरिरहेको ट्राफिक प्रवक्ता बामदेव गौतमले बताए । सोमबार मात्रै १ हजार ८८ सवारी साधनलाई कारवाही गरेको प्रवक्ता गौतमको भनाइ छ ।

Skip This
Skip This
Logo