सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे ‘डिलक्स’ होटल निर्माण सम्पन्न भएकाे छ। ग्रुप स्थापनाको २५औं वार्षिकोत्सवमा सो नयाँ होटल आगामी माघ २३ गते ‘सफ्ट लन्च’ गर्ने तयारी भएको छ ।
साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलका ८५ कोठा पहिलो चरणमा सञ्चालन हुनेछ। दोस्रो चरणमा भने १ सय कोठा थप हुने बताइएको छ । लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो ।
विगत लामोसमयदेखि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको यो पहिलो पाँचतारे होटल हो । सुरुमा करिब १ अर्ब २५ करोड रुपैयाँमा होटल निर्माण तय गरिएको भए पनि कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताए ।
सो होटलमा नयाँपन ल्याउने उद्देश्यका साथ सबैभन्दा ठूलो ‘कन्फ्रेन्स हल’ निर्माण गरिएको छ। साथै होटलभित्रै ‘लक्जरियस’ क्यासिनो पनि सञ्चालन हुनेछ। जुन निर्माण भएर सञ्चालनका लागि सम्बद्ध कम्पनीलाई जिम्मा दिइसकिएको ग्रुपका सिइओ न्यौपानेले जानकारी दिए ।
साथै होटलको १२औं तलामा ‘लक्जरियस रेस्टुराँ’ समेत निर्माण भएको छ, जहाँबाट माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिनेछ ।































प्रतिक्रिया