काठमाडौं ।
अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग आह्वान गरेका छन् ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले शुक्रबार आफूसँग गरेको शिष्टाचार भेटमा उनले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि बढाइरहेको बताए ।
लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैंकिङको विस्तारमा नेपालले बङ्गलादेशबाट धेरै सिकेको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँसराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको बताए । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बङ्गलादेश र भूटानबीचको उपक्षेत्रीय इकाइ महत्वपूर्ण हुन सक्ने सम्भावना औँल्याए।
भेटमा अर्थमन्त्रीले नेपाल र बङ्गलादेशबीच पाँच दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य जारी रहेको बताए । उनले दुवै देश प्राकृतिक, मानव संशोधन लगायत स्रोतबाट सम्पन्न भएकाले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए। नेपाल र बङ्गलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकाले सहकार्य हुन सक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
सो अवसरमा राजदूत साम्सले बङ्गलादेश क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिँदै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारका माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए। वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा संवाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल र बङ्गलादेशबीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरे । राजदूत साम्स कार्यकाल पूरा गरी बङ्गलादेश फर्कदै छन् ।रासस





























प्रतिक्रिया