इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिए

इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिए

केन्द्रबिन्दु
0
Shares

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ बनेको छ । दुवै गाभिएसँगै इन्भेष्टमेण्ट मेगा बैंकको विधिवत्रुपमा आजदेखि एकीकृत कारोबार सुरु भएको छ । 

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्तरुपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् । दुई बैंकबीच शेयर स्वाप अनुपात १०० दशमलव ९० रहेको छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । 

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेण्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिपडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । साविक इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् । 

अध्यक्ष पाँडेले बैंकिङ क्षेत्रमा अग्रणी बैंकको रुपमा सबल एवं सक्षम संस्थाको रुपमा परिचित रहिआएका दुवै बैंक गाभिएपश्चात् देशकै ठूला वाणिज्य बैंकमध्येको एक हुने बताए । उनले ग्राहकको सेवा सुविधालाई प्राथमिकता दिँदै कर्मचारी, प्रविधिलगायत वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुनुपर्ने र हुनेछ भन्ने धारणा व्यक्त गरे । साथै, अध्यक्ष पाँडेले यसले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताए । नियम र नियमनभित्र बसेर कर्मचारीले दिने सेवा सुविधा तथा कर्मचारीको व्यवस्थापन, प्रविधि, शेयर कारोबारलगायतलाई उत्कृष्ट बनाउने ध्येय आफूहरुको हुने उनले बताए । 

त्यसैगरी, मेगा बैंकका अध्यक्ष शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद् तथा  सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षलाई अङ्गीकार गर्नुका साथै शेयरधनीको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे । 

मर्जरपश्चात् बैंकको कूल चुक्ता पुँजी रु ३४  दशमलव १२ अर्ब, कूल पुँजी रु ५८ अर्बभन्दा बढी र कूल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी, कूल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब गरी कूल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । 

गाभिएपछि बैंकको शाखा सङ्ख्या दुई सय ९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा एक सय नौ तथा एटिएम सञ्जाल दुई सय ७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता जनाइएको छ । पाँडेका अनुसार बैंकले कूल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दैआएको छ ।  

Skip This
Skip This
Logo