बैंकर्स संघले बैंकको ब्याजदर घटाउने निर्णय गरेको छ । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकमा माघ १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय भएको जनाइएको छ । जसअनुसार निक्षेपको ब्याजदर पुसको भन्दा १० प्रतिशत कम हुने भएको छ ।
राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोहीअनुसार माघदेखि १० प्रतिशत ब्याजदर घट्ने भएको बैंकर्स संघले जनाएको छ ।
अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।
लामो समयदेखि बढिरहेको ब्याजदरका कारणले अर्थतन्त्र संकटमा परेको भन्दै व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । व्याजदर घटाउन व्यवसायीहरु अर्थमन्त्री र प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेका थिए । महंगो ब्याजदर र आयातमा गरिएको कडाइका कारण सरकारको राजस्वमा गिरावट आउँदा चालु खर्च गर्न सरकारले ऋण लिनुपर्ने भएको छ । त्यसैले राजस्व बढाउन र व्यवसायी खुसी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री विष्णु पौडेलले गभर्नरलाई ब्याजदर घटाउन आग्रह गरेका थिए । अर्थमन्त्री र प्रधानमन्त्रीको आग्रहमा गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकर्स संघले ब्याजदर घटाउने निर्णय लिएको हो ।
निक्षेपको ब्याज घटेसँगै बैंकहरूले लिने व्याजको आधारदर परिवर्तन हुनेछ । आधारदरका आधारमा कर्जाको पनि ब्याजदर घट्नेछ । माघ १ देखि निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर भने फागुन वा चैतदेखि मात्रै घट्ने बैंकर्स संघले जनाएको छ ।
अहिले बैंकहरुमा तरलता सहज बनेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर्सहरू पुगेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्म ५३ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। यस्तै ऋण प्रवाह भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६ दशमलव ६५ प्रतिशत रहेको छ ।





























प्रतिक्रिया