कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि मंगलवारदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले यसअघि नै स्थानीय बासिन्दा र वैदेशिक पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये अरु बाँडफाँड गरिसकेर बाँकी रहेको २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ भने बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
उक्त आईपीओ खरिदमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन पाउनेछन् । आईपीओ निष्कासन बन्द माघ ६ गते हुनेछ । तर, उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा माघ १७ गतेसम्म आवेदन दिने समय थप हुने कम्पनीले जनाएको छ । तर, आईपीओ विक्री बन्द ६ गते नै हुने यो भन्दा अगाडीको आईपीओ निष्कासनले नै देखाएको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहबाट पनि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।
कम्पनीले २०७५ कात्तिक १७ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालन गर्दै आएको हो । केबुलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगाएतका परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीको अधिकृत पूँजी ७५ करोड रूपैयाँ रहेको छ भने जारी पूूँँजी ६० करोड रूपैयाँ रहेको छ ।
संस्थापकतर्फ ४८ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारी पछि चुक्तापूँजी ६० करोड रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४४ लाख ५८ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ५ करोड ११ लाख ६६ हजारभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार ७८ रूपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनी २ रूपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ ।





























प्रतिक्रिया