कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः मन्त्री साह

कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः मन्त्री साह


कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएकी छन् । 

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताइन् ।

उनले आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने बताइन् । उनले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको बताइन् । 

कृषिमन्त्री साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले  मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको बताइन् । 

उनले कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताइन् । उनले अब अनलाइन भुक्तानी हुनेगरी पहिलो निर्णय गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् । आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पु-याएको बताइन् । 
 
मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दुध उत्पादन हुने भन्दै दुधबाट दुध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्न सकिने बताइन् । उनले स्वदेशमै रोजगारी सिर्जना हुनेगरी काम गर्न सरकार लागिरहेको बताइन् । अहिलेका चुनौति सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको उनले बताइन् । 

Logo