कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । कृषि विकास बैंकको सीईओ बन्नु आफैमा चुनौतीपूर्ण कार्य हो । यति बेला कृषि विकास बैंक नोक्सानीमा छ । यो बैंक १२ करोड ८९ लाखरुपैयाँ घाटामा रहेको बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा उल्लेख छ ।
नेपाल बैंकर एसोसिएसनको तथ्यांकअनुसार कृषि विकास बैंकको निक्षेपभन्दा कर्जा प्रवाह धेरै छ । माघसम्ममा बैंकले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ । पछिल्ला ७ महिनामा बैंकले ८ अर्ब ५२ करोड निक्षेप संकलन गर्दा ४३ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै माघमा बैंकले २ अर्ब २६ करोड निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने १ अर्ब २५ करोडले ऋणात्मक छ ।
विगत पाँच वर्षदेखि निरन्तर नाफामा गएको यस बैंकले नोक्सानी ब्यहोरेको छ । अर्कोतर्फ बैंकको खराब कर्जा अत्यधिक बढेको छ । बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ । जसले गर्दा पनि नवनियुक्त सिइओ गुरुङलाई बैंक सम्हाल्न गाह्रो हुने अर्थका जानकारहरु बताउँछन् ।
हुन त नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ ।त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनीसँग शिभिल बैंकमा सिइओ भएर काम गरेको अनुभव पनि छ । उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरे । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भएर काम गरेका थिए । गुरुङ सोही बैंकको सीईओ समेत बन्न सफल भए । ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरेका गुरुङसँग विदेशी बैंकमा समेत काम गरेको अनुभव छ । सिभिल बैंक छाडेर उनी विदेशी बैंक म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरे । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।
विगतमा सिभिल बैंकको सिइओ हुँदा कम्जोर अवस्थामा रहेको सिभिललाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।नवनियुक्त सीईओ गुरु?लाई अहिले पनि उत्तिकै चुनौती छ । अहिलेको प्रतिस्पर्धा अनुसार घाटा ब्याहोरी रहेको कृषि विकास बैंकलाई अब्बल बैंकको रुपमा स्थापित गर्ने मुख्य चुनौती उनी सामु छ । गुरुङलाई शनिबार बसेको कुषि विकास बैंकको सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको हो । सीईओ गुरुङले आज सोमबारबाट आफ्नो कार्यबार सम्हालेका छन् ।































प्रतिक्रिया